एमालेको भारी जित, राष्ट्रियसभामा बहुमत हार्यो

संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको सबैभन्दा ठूलो दल हो, एमाले । राष्ट्रियसभामा एमालेका अध्यक्षसहित १७ सांसद् छन् ।  तर, मंसिर दोस्रो साता हुने निर्वाचनमा सत्ता गठबन्धन एक ठाउँमा उभिए उसको शक्ति खुम्चने छ ।

राष्ट्रियसभामा गोलप्रथाबाट ६ वर्षे अवधि तोकिएकाहरूको पदावधि सकिने लागेपछि माघ ११ गते चुनाव हुँदैछ ।  आउँदो फागुन २० गतेबाट राष्ट्रियसभाका २० जना सदस्यहरूको पद रिक्त हुँदैछ । जसमध्ये एक पद मनोनित र १९ सदस्य निम्ति निर्वाचन हुनेछ । 

सदस्यहरूको पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार निर्वाचन माघमा निर्वाचन हुने लागेको हो । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार, पुस २३ गते उमेदवारी मनोनयन गर्नुपर्नेछ । सत्ता गठबन्धनमा रहेका दलहरू गठबन्धनमार्फत नै चुनावमा जाने मनस्थितिमा छन् । 

जसको पद सकिँदैछ 

राष्ट्रिय सभामा पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टी (जसपा) का एक र स्वतन्त्र १ र मनोनित दुई जना छन् । 

एमालेबाट निर्वाचित राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राईको कार्यकाल सकिन लागेको हो ।

त्यस्तै, कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदैछन् ।  माओवादीका महेशकुमार महरा, विना पोखरेल र हरिराम चौधरी फागुन २० बाट बिदा हुँदैछ । 

एकीकृत समाजवादीका नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल सकिन लागेको हो । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पदावधि पनि सकिँदैछ । पौड्याल एमालेकै कोटामा मनोनित भएकी थिइन् ।

कुन–कुुन पदमा हुँदैछ चुनाव ? 

निर्वाचन आयोगका अनुसार उनीहरूको कार्यकाल सकिँदा  कोशी प्रदेशमा महिला–१  र अन्य– १ गरी २ पदमा चुनाव हुनेछ ।  मधेशमा पनि महिला १ र अन्य १ गरी दुई पदमा चुनाव हुनेछ ।  वाग्मतीमा महिला १, दलित १, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १ गरी कूल चार पदमा चुनाव हुनेछ । 

गण्डकीमा महिला १, अल्पसंख्य १ र अन्य १ गरी ३,  लुम्बिनीमा महिला १, अन्य १ गरी २ पद रिक्त हुने भएकाले त्यसमा चुनाव गरिनेछ ।  कर्णालीमा महिला १, दलित १, अन्य १ गरी तीन पद र सुदूरपश्चिममा महिला १, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूदायबाट १ र अन्य १ गरी कूल तीन पदमा चुनाव हुनेछ ।

यस्तो छ हिसाब–किताब 

राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभाका सांसद र स्थानीय तहका गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिका÷उपमहानगर÷महानगरपालिकाका प्रमुख तथा उपप्रमुख हुन् । जनसंख्याका आधारमा उनीहरूको मतभार छुट्टाछुट्टै गणना हुन्छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभाका सदस्यहरूको मतभार ५३ र स्थानीय तहका मतदातको मतभार १९ गणना हुनेछ । 
 
कोसी प्रदेश : गठबन्धन हाबी 

कोशी प्रदेशमा प्रदेशतर्फ प्रुमख प्रतिपक्षी दल एमाले पहिलो छ । ४० सिट रहेको एमालेको मतभार २ हजार १२० छ ।  स्थानीयतर्फ एमालेका ११० मतदाता छन् । उनीहरूको मतभार २ हजार ९० हुन्छ । यसरी एमालेको कूल मतभार ४ हजार २१० हुन आउँछ । 

त्यस्तै, कांग्रेससँग २९ सांसद् छन् । त्यो संख्यालाई ५३ ले गुणान गर्दा एक हजार ५३७ मतभार हुन्छ । स्थानीय तहका प्रमुख÷उपप्रमुख ११५ जनाको मतभार २ हजार १८५ छ । यसरी हेर्दा कांग्रेससँग कूल ३ हजार ७३३ मतभार छ ।

प्रदेशतर्फ १३ सिट रहेको माओवादीको ६८९ र ६ सिट रहेको राष्टिय प्रजतातन्त्र पार्टी (राप्रपा) को मतभार ३१८ हुन्छ ।

स्थानीय तहमा माओवादीको ३१ मतदाताको मतभार ५८९ छ । दुवैतर्फ गरी माओवादीसँग कूल एक हजार २७८ मतभार देखिन्छ । स्थानीय तहमा राप्रपाको ४ मतदाता छन् । उनीहरूको मतभार ७६ हुन्छ । कोशीमा राप्रपासँग कूल ३९४ मतभार रहेको छ । 

प्रदेशसभामा ४ सिट रहेको नेकपा एकीकृत समाजवादीको मतभार  २१२ भने जसपासँग ५३ मतभार छ ।  एकीकृत समाजवादीका ७ प्रमुख÷उपप्रमुख छन् । उसँग यस प्रदेशमा कूल ३४५ मतभार छ ।  स्थानीय तहमा जसपाका ४ मतदाताको मतभार ७६ हुँदा उसँग कूल १२९ मतभार छ । 

स्थानीय तहमा स्वतन्त्रतर्फ ३ प्रमुख/उपप्रमुखको मतभार ५७ छ ।  यसरी हेर्दा गठबन्धनमा रहेका दलहरूसँग कूल ५ हजार ४७४ मतभार छ । जुन एमालेको भन्दा १ हजार २६४ हो । जसमा राप्रपासहित स्वतन्त्रले एमालेलाई भोट दिए पनि एमालेको जित्ने सम्भावना देखिँदैन ।  

मधेश प्रदेश 

मधेश प्रदेशसभामा पनि एमाले पहिलो पार्टी हो । एमालेसँग त्यहाँ २६ सदस्य छन् । उनीहरूको मतभार एक हजार २१९ हुन आउँछ ।  स्थानीय तहमा उसको प्रमुख÷उपप्रमुख ५७ जना छन् । जसको मतभार १ हजार ८३ हुन्छ । यसरी हेर्दा एमालेसँग कूल २ हजार ३०२ मतभार रहेको छ । 

प्रदेसभामा २२ सिट रहेको कांग्रेसको मतभार एक हजार १६६ छ । स्थानीय तहमा उसको प्रमु्ख÷उपप्रमुख १०२ जना छन्, जसको मतभार एक हजार ९३८ हुन्छ । यसरी हेर्दा कांग्रेससँग मधेशमा तीन हजार १०४ मतभार छ । 
जसपाका प्रदेश सभा सदस्य १८ छन् । उनीहरूको मतभार ९५४ हुन्छ । स्थानीय तहमा ५१ मतदाता छन् । उनीहरूको मतभार ९६९ हुन्छ । दुवैतर्फ गरी जसपासँग यहाँ कूल १ हजार ८१७ मतभार छ । 

त्यस्तै, १३ प्रदेशसभा सदस्य रहेको जनमत पार्टीको मतभार ६८९ हुन आउँछ । स्थानीय तहमा रहेका ३ जना मतदाताको मतभार ५७ हुन आउँछ । यहाँ जनमतसँग कूल ७४६ मतभार छ । 

यहाँ माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ९÷९ सदस्य छन् । उनीहरूको मतभार समान ४७७ हुन्छ । माओवादीले ८ पद जिते पनि एक जना स्वतन्त्र सांसद् पार्टी प्रवेश गरेपछि संख्या ९ पुगेको हो । 
स्थानीय तहमा माओवादीको मतदाता १८ जना छन् । जसको मतभार ३४२ रहेको छ । यो प्रदेशमा माओवादीको कूल मतभार ८१९ हुन आउँछ । 

लोकतान्त्रिक समाजवादीका स्थानीय तहमा २४ जना मतदाता छन् । उनीहरूको मतभार ४५६ हुन्छ । यहाँ लोसपाको कूल मतभार ९३३ छ ।  एकीकृत समाजवादीको मतभार ३७१ छ । उसका प्रदेशसभा सदस्य ७ जना छन् । स्थानीय तहमा ११ जना मतदाताको मतभार २०९ छ । दुईवटा जोड्दा एकीकृत समाजवादीसँग ५८० मतभार छ । 

नेपाल संघीय समाजवादी पार्टी ५३, नागरिक उन्मुक्ति  ५३ राष्टिय प्रजातन्त्र पाटीसँग ५३ मतभार छ । स्वतन्त्र २ सांसदको मतभार १०६ छ ।  मधेशमा स्थानीय तहमा विवेकशीलका दुई मतदाताको मतभार ३८ छ । त्यस्तै, स्वतन्त्र ३ मतदाताको मतभार ५७ छ ।

वाग्मती प्रदेश 

वाग्मती प्रदेशसभामा पहिलो दल कांग्रेस ३७ सिट छ । उनीहरूको संख्यालाई ५३ ले गुणान गर्दा एक हजार ९६१ मतभार कायम हुन्छ । स्थानीय तहका प्रमुख÷उपप्रमुख १०८ छन्, उनीहरूको मतभार २०५२ हुन आउँछ । दुवैतर्फ गरी यहाँ कांग्रेससँग  ३ हजार ९ सय ७४ मतभार छ ।

२७ प्रदेशसभा सदस्य रहेको एमालेको मतभार एक हजार ४३१ छ । स्थानीय तहमा एमालेका प्रमुख÷उपप्रमुख ६० जना छन् । उनीहरूको मतभार एक हजार १४० छ । यहाँ एमालेसँग कूल २ हजार ५७१ मतभार छ । 

माओवादीसँग २१ प्रदेश सांसद् छन् । उनीहरूको मतभार १ हजार ११३ हुन आउँछ । स्थानीय तहका ५७ मतदाताको मतभार एक हजार ८३ हुन्छ । उसँग दुई हजार १९६ मतभार देखिन्छ ।

१३ सदस्य राप्रपाको ६८९, ७ सिट रहेको एकीकृत समाजवादीको मतभार ३७१ छ ।  स्थानीय तहमा राप्रपाको १, एकीकृत समाजवादीका ९ जना मतदाता छन् ।  यो प्रदेशमा राप्रपाको कूल मतभार ७०८, एकीकृत समाजवादीको कूल मतभार ५४२ छ । 

३ प्रदेशसभा सदस्य रहको नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को १५९र २ सिट रहेको हाम्रो नेपाली पार्टीको मतभार १०६ हुन आउँछ ।  यो प्रदेशमा नेमकिपासँग १९७, हाम्रो नेपाली पार्टीसँग १०६ मतभार छ । स्वतन्त्रतर्फ १९ मतभार छ ।

यो प्रदेशमा गठबन्धनका दलहरूसँग ६ हजार ७१५ मत छ । यहाँ एमालेलाई सबैले साथ दिए पनि गठबन्धन हाबी छ ।

गण्डकीमा यस्तो छ अवस्था 

गण्डकी प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् । उनीहरूको मतभार एक हजार ४३१ हुन्छ ।  स्थानीय तहमा उसँग ९२ मतदाताको एक हजार ७४८ मत छ । उसको कूल मतभार ३ हजार १७९ छ ।  एमालेका २२ प्रदेशसभा सदस्यको एक हजार ६६६ मतभार हुन आउँछ । स्थानीय तहमा एमालेसँग १ हजार २९२ मतभार छ । यसरी हेर्दा उसँग कूल २ हजार ४५८ मतभार छ ।

प्रदेशसभातर्फ माओवादीका ८ सदस्यको मतभार ४२४, राप्रपाका २ सदस्यको १०६ र नेकपा एस १ सदस्यको ५३ मतभार हुन आउँछ ।  स्थानीय तहमा माओवादीको ५७०, नेकपा एसको १९ मतभार छ । यहाँ माओवादीसँग कूल ९४१, नेकपा एससँग ७२ मतभार छ । 

जनमोर्चाको ५७ मतभार छ ।  त्यस्तै, एक जना स्वतन्त्रको १९ मतभार हुन्छ । यो प्रदेशमा गठबन्धनसँग ३ हजार ७७४ मतभार छ । जुन एमालेभन्दा १ हजार ३१६ ले बढी हो । अन्य पार्टीको सहयोग हुँदा पनि एमालेले जित्ने सम्भावना देखिँदैन । 

लुम्बिनी

लु्म्बिनी प्रदेशमा एमालेका २९ सांसद् छन् । उनीहरूको मतभार एक हजार ५३७ छ । स्थानीय तहमा एमालेका ६७ मतदाताको मतभार १ हजार २७३ छ । यहाँ एमालेको कूल मतभार २ हजार ८१० छ । 

कांग्रेसका २७ प्रदेशसभा सदस्यसँग १ हजार ४३१ मतभार छ । माओवादीको ११ सदस्यको मतभार ५८३ हुन आउँछ । स्थानीय तहमा कांग्रेसका ७२ जना प्रमुख÷उपप्रमुख छन् । यो प्रदेशमा कांग्रेससँग कूल ३ हजार १७९ मतभार छ ।  

राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग ४÷४ सांसद छन् । उनीहरूको मतभार समान २१२ छ । स्थानीय तहमा राप्रपाको ३ जना मतदाता गरी उसँग कूल २६९ मतभार छ । यहाँ जनमत, जसपा र लोसपाबाट समान ३ सदस्य छन् । उनीहरूको मतभार समान १५९ हुन आउँछ । स्थानीय तहतर्फ लोसपासँग ७३ मतभार छ । उसँग कूल २३५ मतभार छ ।

यहाँ राजमो र एकीकृत समाजवादीका १÷१ सदस्य छन् । उनीहरूको मतभार समान  ५३ हुन आउँछ । राजमोसँग स्थानीय तहका ४ जना मतदाता छन् । उनीहरूको कूल मतभार १२९ छ । १ जना स्वतन्त्र सांसदसँग पनि ५३ मतभार छ ।

यसरी हेर्दा यो प्रदेशमा पनि गठबन्धनै वर्चश्व देखिन्छ । 

कर्णाली 

कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद छन् । उनीहरूको मतभार ७४२ हुन्छ । स्थानीय तहका ५९ मतदातको एक हजार १२१ मतभार छ । दुवैतर्फ गरी कांग्रेससँग कूल १ हजार ८६३ मतभार देखिन्छ ।  त्यस्तै, १३ सांसद् रहेको माओवादीको मतभार ६८९ छ । स्थानीयतर्फ ९१२ मतभार उसँग छ । यसरी हेर्दा माओवादीसँग कूल एक हजार ६५४ मतभार देखिन्छ । 

प्रदेशतर्फ एमालेसँग  १० सांसदको ५३० मतभार छ । स्थानीय तहमा उसँग ६६५ मतभार छ । दुवैतर्फ गरी उसँग १ हजार १४२ मतभार देखिन्छ ।  यहाँ राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रबाट समान एक सांसद् छन् । उनीहरूसँग समान ५३ मतभार छ । 

त्यस्तै स्थानीतहर्फ एकीकृत समाजवादीको १९० मतभार जोड्दा कूल २४३ मतभार छ । स्वतन्त्रसँग यो प्रदेशमा १५९ मतभार छ ।  गठबन्धन दलको हिसाब गर्दा कर्णाली प्रदेशमा पनि एमालेलाई सहजता छैन । 

सुदूरपश्चिमको अवस्था 

सूदुरपश्चिम प्रदेशसभामा कांग्रेसका १९ सांसद् छन् । उनीहरूको मतभार एक हजार सात छ । त्यस्तै, स्थानीय तहमा उसँग १६३४ मतभार छ । कूल दुई हजार ६४१ मतभार कांग्रेसको छ ।

११ सदस्य रहेको माओवादीसँग ५८३ मतभार छ । प्रदेश र स्थानीय तह गरी उसँग कूल एक हजार ५८ मतभार छ ।  यहाँ एमालेको १० सदस्यको मतभार ५५३ रहेको छ । स्थानीय तहका ५० मतदाताको मतभार ९५० हुन आउँछ । यसरी हेर्दा यहाँ एमालेसँग १ हजार ४८० मतदाता रहेका छन् ।

नाउपाका ७ सदस्य रहेका छन् । उनीहरूको मतभार ३७१ हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख/उपप्रमुख ७ जनताको मतभार १३३ मतभार छ । यसरी हेर्दा यहाँ नाउपासँग ५०४ मतभार छ । उसको राम्रै प्रभाव देखिन्छ । 
एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्यको मतभार २१२ हुन आउँछ । स्थानीय तहमा ५ मतदाता गर्दा कूल ३०४ मतभार छ । 

\यहाँ राप्रपा र स्वतन्त्रको मतभार समान ५३ छ । स्थानीय तहमा स्वतन्त्र ३ मतदाता हुँदा उनीहरूको कूल मतभार ११० छ ।  यो प्रदेशमा पनि गठबन्धन कायम रहे एमालेको सम्भावना देखिँदैन । 

खिइँदै एमाले, यस्तो थियो विरासत 

०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा एमालेका २९ सांसद थिए ।  ५९ सदस्यीय राष्ट्रियसभामा एमाले पहिलो दल बनेको थियो ।  ०७५ जेठ ३ गते नेकपा माओवादीसँग (१० सांसद) एकता हुँदा तत्कालीन नेकपा ३९ सदस्यीय बनेको थियो । 

२०७६ माघ ९ गते भएको रिक्त हुन लागेका १८ स्थानमा चुनाव हुँदा नेकपाले १६ सिट जितेको थियो ।  तर, सर्वोच्च अदालतको फैसलाले माओवादी र एमाले पूर्ववतः अवस्थामा फर्कदा पनि एमाले पहिलो दल थियो । उसँग राष्ट्रियसभाका अध्यक्षसहित ३१ सांसद थिए ।

तर, एमाले पनि विभाजन हुँदा ७ सांसद एकीकृत समाजवादीमा लागे । एमालेसँग २४ सांसद थिए ।  २०७८ माघ १२ गते सोही फागुन २० बाट चार वर्षे पदावधि सकिन लागेका २० मध्ये १९ पदमा निर्वाचन भएको थियो । त्यतिबेला एमालेले १ पद मात्रै जितेको थियो ।

उक्त निर्वाचनबाट ६ सिट गुमाएर एमाले १७ सिटमा खुम्चन पुग्यो । त्यसअघि उपनिर्वाचन पनि भएको थियो । नेकपा विभाजनमा माओवादी छाडेर एमालेमा रहेका रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्काको पद रिक्त भएपछि उपचुनाव भएको थियो ।

बादललाई स्वतन्त्र उमेदवार खिमलाल देवकोटाले पराजित गरेका थिए भने खड्कालाई कांग्रेसका दीर्गनारायण पाण्डेले । देवकोटाको पद फागुन २० मा सकिँदैछ ।  त्यस्तै एमालेका खिमलाल भट्राईले राजीनामा दिँदा रिक्त भएको पदको उपनिर्वाचनमा एमालेकै कुमार दसौदी निर्वाचित भएका थिए ।

एमालेसँग राष्ट्रियसभाका अध्यक्षसहित १७ सिट छ । रिक्त हुन लागेका सिटमा एमाले पराजित भए ९ सिटमा खिइनेछ । 

त्यसअतिरिक्त मनोनीतबाट पदावधि सकिन लागेकी विमला राई पौड्याल पदावधि सकिँदैछ । उक्त कोटा पनि गठबन्धनले एमालेलाई दिने छैन । यसो गर्दा एमालेको उपस्थिति ८ सिटमा रहने सम्भावना देखिन्छ ।