स्वास्थ्यमन्त्री बस्नेतले भने: गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा।गोविन्द केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका छन् । 

वरिष्ठ चिकित्सक केसीले वेलावेला अनशन बस्ने कुरा देश र जनताको अहितमा भए पनि मेडिकल गिरोहजस्ता गलत मान्छेको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सचेत गराए।

नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि केसी र मेडिकल माफियाहरूले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो । 

मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शय्या भएका सरकारी अस्पतालमा नर्स र पारामेडिक्स पढाउने र त्योभन्दा माथि शय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए।

राष्ट्रिय ट्रमा सेन्टरले शनिबार काठमाडांैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसको कार्यान्वयनमा साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पटकपटक आग्रह गरे । 

मन्त्री बस्नेतले भने, ‘अहिलेको हिसाबले ५ वर्षपछि यो देशमा डाक्टर र नर्स पाइँदैन। मेरो प्रस्ताव कार्यान्वयन गर्न गाह्रो पनि छैन। यो प्रस्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरू संसारभर हामी पठाउन सक्छौँ। हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मेडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहिँ भोकमरीमा पर्नेछौं। मैले क्याबिनेटमा यो कुरा लगेँ। मेडिकल शिक्षा नेपालमा फटाफट पढ्न र पढाउन पाउने व्यवस्था भयो भने यसको असर कहाँ कहाँ पर्छरु त्यहाँबाट खेल्न थाल्छन्। आधारभूत स्वास्थ्य सेवा जनतालाई दिनका लागि यो आवश्यक छ।’

मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए ।