लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरीद्वारा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारका सचिवहरूसँग आज मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो–छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिनुभयो । उहाँले कार्यसम्पादनलाई प्रभावकारी बनाई उपलब्धि बढाउनसमेत आग्रह गर्नुभयो । “अहिले प्रदेश सरकारको कार्यसम्पादन र उपलब्धि भनेअनुसार राम्रो हुनसकेको छैन, अब त्यो अवस्था आउन दिनु हँुदैन”, उहाँले भन्नुभयो ।
सरकारको कामको गति सुस्त भयो, उपलब्धि बढाऊ, भएको प्रगति सार्वजनिक गरौँ । चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति, उपलब्धि र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीररूपमा लिन आग्रह गर्नुभयो । उहाँले अनावश्यक योजनाभन्दा पनि आवश्यक योजना कार्यान्वयनमा चासो दिनसमेत आग्रह गर्नुभयो ।
मन्त्रालयको लक्ष्य र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोहीअनुसार काम गर्नसमेत मुख्यमन्त्री चौधरीले आग्रह गर्नुभयो । त्यहीअनुसार नीति बनाउन र स्रोत परिचालन गर्नसमेत उहाँले निर्देशन दिनुभयो । त्यसैगरी योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय बढाउनसमेत मुख्यमन्त्री चौधरीले निर्देशन दिनुभएको छ ।
बैठकमा प्रमुख सचिव राधिका अर्यालले निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले अबको समय पूर्णरूपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुनुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिवहरूले मन्त्रालयले योजना र बजेट कार्यान्वयनका लागि नीति, विधि बनिसकेकाले अब काममा लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रतिक्रिया