बालश्रममा कमी ल्याउनु राज्यको दायित्व हाे: एकीकृत समाजवादी महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशमा बढिरहेको बालश्रमको सङ्ख्यामा कमी ल्याउने विषय राज्यको दायित्व भएको बताउनुभएको छ । मुलुकमा ११ लाखभन्दा धेरै बालबालिका स्कुल जानबाट वञ्चित रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सरकार उनीहरूप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३४औँ अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा आज आयोजित अन्तरक्रियामा महासचिव भुसालले गरिबी तथा विपन्नताका कारण उनीहरू होटल, उद्योग, निर्माणलगायत क्षेत्रमा काम गर्न बाध्य रहेको बताउँदै मुलुकमा बढिरहेका बालश्रम न्यूनीकरण गर्ने विषय राज्यको दायित्व भएको बताउनुभयो ।
समाज बालबालिकाको अधिकारबारे सचेत रहनुपर्नेमा जोड दिँदै समासचिव भुसालले अभिभावक पनि उनीहरूका चिन्ता र चासो लिन जिम्मेवार बन्नुपर्ने बताउनुभयो । बालअधिकारसम्बन्धी बनाइएका कानुन कार्यान्वयन गरी समाजलाई बालश्रमबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीसँग समस्याहरू धेरै छन् । कानुन कार्यान्वयनमा हामी अब्बल बन्न सकेका छैनौँ ।”
महासचिव भुसालले अभिभावकको आर्थिक समृद्धि बिना बालअधिकारको सुनिश्चित नहुने बताउँदै बालबालिका, महिला, दलित, विपन्न, गरिबी, दलित समुदायका अधिकार रक्षाका लागि उनीहरुको परिवारलाई आर्थिक तथा सामाजिक सुरक्षा गरी बालबालिकाको अधिकारलाई पूर्णतः प्रत्याभूत गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले बाआमालाई राम्रो रोजगार नदिइकन बालअधिकारको कार्यान्वयन नहुने बताउँदै कानुनको प्रभावकारी कार्यान्वयन गर्न राज्यले आफ्नो संयन्त्रलाई बलियो बनाउने र रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
महासचिव भुसालले आफ्नो पार्टीले रोजगार, सुशासन, समृद्धिलगायत विषयलाई लिएर आगामी १० वर्षीय रणनीति तय गरेको जानकारी दिँदै त्यसले बालअधिकारको रक्षा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बालबालिकाको अधिकार रक्षार्थ विश्वमा धेरै प्रकारका सङ्घसंस्थाले ठूलो लगानीसमेत गरेको भए पनि पछिल्ला तथ्याङ्कहरुले विश्वभरका बालबालिकाको अवस्था भने निकै नाजुक रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार संसारभर करिब १६ करोडभन्दा धेरै बालबालिका बालश्रममा संलग्न छन् । तीमध्ये सात करोड ९० लाखभन्दा धेरै बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको जनाइएको छ । नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका ११ लाख बालबालिका अझै पनि बालश्रमको गर्न बाध्य रहेको जनाइएको छ ।

एक सुन्दर गाउँको प्रेम कथा: 'रानी महल' द्वारा रूपान्तरित एक आदर्श जीवन।

टिकटक चलेको भए खबर गरौँ:नेपाल दूरसञ्चार प्राधिकरण

टिकटक बन्दको निर्णयविरुद्ध परेको रिटमा सोमबारदेखि प्रारम्भिक सुनुवाइ हुने,द…

रणवीरसँग पनि गम्भीर सम्बन्धमा थिइन् भनेपछि ट्रोल बनिन् दीपिका
छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक

‘नेपाली भाषाप्रति प्रहार भइरहेको छ’

प्रतिक्रिया