चाडपर्वपछिको सेयरबजार कता सोझिएला ? यस्ता छन् संकेतहरू
काठमाडौँ । यस वर्षका प्रमुख चाडपर्वहरू सकिएका छन् । दसैँ, तिहार, छठजस्ता मुख्य चाडपर्वको किनमेलले बजारलाई कति उत्साह दियो र चलायमान बनायो भनेर समीक्षा हुँदै छ ।
यसैक्रममा अर्थतन्त्रको ब्यारोमिटर मानिने पुँजीबजार अब कता सोझिन्छ भन्ने पनि धेरैको चासोको विषय बनेको छ ।
अहिले अर्थतन्त्रका बाह्य सूचक उत्साहजनक छन् । आन्तरिक सूचकहरू प्रायशः दबाबमै भए पनि बैंकमा लगानीयोग्य रकम बढेको छ । निक्षेप र कर्जाको ब्याज घट्दै गएको छ भने कर्जाको उपलब्धता सहज बन्दै छ । अब एकल अंकमै कर्जा पाउन सकिने आधार बलिया बन्दै गएका छन् ।
पछिल्लोपल्ट कात्तिक २४ गतेदेखि बन्द भएको सेयरबजार आज खुल्दै छ । तिहार तथा छठ पर्वको बिदाका कारण पछिल्लो १० दिनदेखि बन्द रहेको नेप्से कता सोझिएला त ?
तिहारअघि नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो । सो साता नेप्से परिसूचक ४.३८ अंक बढेर १८५२.०८ विन्दुमा पुगेको थियो।
साताका ५ कारोबार दिनमध्ये साताको पहिलो र अन्तिम कारोबार दिन गरी नेप्से दुई दिन घटेको थियो भने तीन दिन बढेको थियो ।
प्राविधिक विश्लेषण हेर्दा, तिहारअघि नेप्से सपोर्ट जोनबाट उक्लिन खोजिरहेको देखिन्छ। साताको पहिलो कारोबार दिन सपोर्ट जोनमा झरेको नेप्से पछिका तीन कारोबार दिन भने बढेको थियो। हाल नेप्सेको सपोर्ट क्षेत्र १८१० देखि १८४० सम्म रहेको छ।
यो साता नेप्से ओरालो लागेमा सोही क्षेत्रमा टेवा पाउनेछ। त्यसैगरी आगामी दिनमा नेप्से उकालो लागेमा १९५० देखि १९८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
लगानीकर्ताहरु आगामी दिनमा बजारले कुन दिशा लिन्छ भन्ने कुराले अन्योलमा देखिन्छन् । साताको अन्तिम कारोबार दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ । तर अब बिक्री चाप कम हुँदै जाने र खरिदकर्ता हाबी हुँदै जाने सम्भावना देखिएको छ ।
तिहारअघिको साता नेप्से सामान्य अंक बढे पनि कारोबार अंक भने कमजोर देखिएको छ । साताभरमा दैनिक औसत ९१ करोडको खरिदबिक्री भएको थियो ।
केही सूचकहरूले भने आगामी दिनमा बजार बढ्ने संकेत गरेका छन् बैंकमा लगानीयोग्य रकम पर्याप्त हुनु र ब्याजदर घट्दै जानु यसका मुख्य कारण हुन् । केही ठूला लगानीकर्ता बजार बुलिस हुन खोजिरहेको भन्दै ठूलो रकममा कारोबार गर्न तम्तयार देखिएका छन् ।
प्रतिक्रिया