संस्कृतिको संरक्षण गरौँ:बागमती प्रदेश खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री लामा
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले मुलुकमा बसोबास गर्ने सबै नेपालीको संस्कार र संस्कृतिको संरक्षण गरेर मात्रै मुलुकको समृद्धि हुने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको पनौती नेपाल र पनौती नेपाल महिला समूहको संयुक्त आयोजनामा आज भएको नेपाल संवत् ११४४ को अवसरमा आयोजित ‘भिन्तुना पनौती सम्पदा र्याली’ कार्यक्रममा बोल्नुहुँदै उहाँले पहिचानको रक्षाका लागि पनि यसको आवश्यकता रहेको बताउनुभएको हो ।
काभ्रेपलाञ्चोकको पनौतीमा आयोजना गरेको भिन्तुना सम्पदा सांस्कृतिक र्यालीले मुलुकको एकता र सद्भावको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । “सम्पदा र संस्कृतिलाई युगौँयुगसम्म बचाइराख्नका लागि सबैको हातेमालो, साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो, “पुस्तौँदेखि जोगाएर ल्याएको पहिचानलाई युवाले संरक्षण गर्ने काममा अग्रसरता लिन आवश्यक छ ।”
सो क्रममा उहाँले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषामा नेवार र तामाङ भाषालाई लागू गर्ने निर्णयसँगै कार्यान्वनयमा ल्याइसकेको अवस्थामा सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर कार्यान्वयनमा ल्याउन गरेको निर्णयले थप बल पुगेको बताउनुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगरभित्र रहेका कला, संस्कृति, सम्पदा र सभ्यताबाट विकास भई यहाँसम्म आइपुग्न सफल भएकामा त्यसको संरक्षण र विकास गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताउनुभयो । सबै सभ्यताको विकास, संरक्षण र पहिचान जोगाउन सकेमा मात्रै स्वाभिमानको लडाइँ साथर्क हुने उहाँको भनाइ थियो ।
विश्व सम्पदा सूचीमा सूचीकृत हुने चरणमा रहेको पनौतीलाई यहाँका सबै किसिमको कला, संस्कृति र भाषाको संरक्षणको स्वामित्व ग्रहण गर्न सबैलाई एकताबद्ध भएर लाग्न नगरप्रमुख भण्डारीले आग्रह गर्नुभयो ।
पनौती नगरपालिका वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकारले सम्पदा भिन्तुना र्यालीले पनौतीको सम्पदा संरक्षण र कला संस्कृतिको जगेर्ना गर्न बल पुग्ने बताउनुभयो ।
पनौती नेपाल संस्थाका अध्यक्ष निवास श्रेष्ठले सबै जाति, भाषा र धर्म मिलेर नै हाम्रो समुदाय बनेको बताउनुभयो । पनौती नगरपालिका वडा नं ७ पुरानो बजारस्थित पमाडी टोलबाट विभिन्न झाँकीसहित सुरु भएको र्याली नगरको विभिन्न क्षेत्र परिक्रमा गरी पुनः त्यही ठाउँमा पुगेर समापन भएको थियो ।
यस्तै आज नै नेपाल संवत्को अवसर पारेर काभ्रेपलाञ्चोकको बनेपामा रहेको कोबहाल दाफा भजन खलः, वाँख्य ज्ञानमाला भजन खलः, रञ्जितकार समाज बनेपा, कोसा दाफा भजन खलः र काँठु गणेश महिला समूहलगायतको संयुक्त आयोजनामा नेपाल संवत् ११४४ को अवसरमा भिन्तुना र्याली आयोजना गरिएको छ ।
प्रतिक्रिया