बाढी तथा पहिरोबाट धनमाल नष्ट
पर्सा- अविरल वर्षाका कारण पर्सागढी नगरपालिका १ भटनी गाँउस्थित अंकित माछा तथा पशुपालन फर्मको नाममा दर्ता रहेको सोही ठाउँ बस्ने मेघराज प्रसादले ठेक्कामा लिएको माछा पोखरीको डिल शनिबार दिउँसो करिब १ सय ५० फिट भत्किन जाँदा करिब ४५ क्वीन्टलको माछा बगाई करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै सोही ठाउँ बस्ने फिदा मिया लगायत १३ जनाको घर तथा धानबाली डुबान हुनुका साथै शंकरसरैया जाने र मनवातर्फ जाने सडक बन्द भएको छ ।
महोत्तरी-
अविरल वर्षाको कारण मनराशिस्वा नगरपालिका १० बस्ने मंगल साह र गंगाराम मण्डलको घरमा पानी पसेर शनिबार बिहान दुबै जनाको घर र घरभित्र रहेको अन्नपात नष्ट भई करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी महोत्तरी, मनराशिस्वा नगरपालिका ८ सहसराम बस्ने बुधन राउत लगायत ३ जनाको तीनै वटा घर शनिबार दिउँसो लडेर घरभित्र रहेको अन्नपात, लत्ताकपडा र अन्य सामान नष्ट भई करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी महोत्तरी, मनराशिस्वा नगरपालिका २ बस्ने भोगिन्द्र मण्डल लगायत ३ जनाको घर अविरल वर्षाको कारण शनिबार दिउँसो लडेर गोठ र घरभित्र रहेका अन्नपात, लत्ताकपडा लगायत करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । तीनै घर परिवार सुरक्षित स्थानमा पाल टाँगी बसेका छन् ।
सर्लाही -
मलंगवा नगरपालिका ५ स्थितमा लखनदेही खोलाको बाढी सोही ठाउँ भाडसर गाउँमा पस्न गई उक्त स्थानमा बसोबास गर्ने २७ घर धुरी डुबानमा परेकोले करिब १ सय ४७ जना छिमेकीको घरमा बसेका छन् ।
यसैगरी सर्लाही, अविरल वर्षाको कारण हरिपुर नगरपालिका ६ लक्ष्मीपुर बस्ने २६ वर्षीय रियाज मंसुर र ३५ वर्षीय मंजुर मंसुरको घरमा शनिबार दिउँसो पानी पसेर दुबै जनाको गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ दुवै परिवारका सदस्यहरु आफन्तकोमा बसिरहेका छन् ।
रौतहट-
गढीमाई नगरपालिका १ समनपुर बस्ने मिना कुमारी देवी उपाध्यायको कच्ची घर अविरल वर्षाको कारण शनिबार साँझ लडेर घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका अन्य सामान नष्ट भई करिब ५ लाख १७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
प्रतिक्रिया