मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृती लिई विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसको १० प्रतिशत अर्थात १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

मुक्तिनाथ कृषि कम्पनी, कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु गरिरहेको कम्पनीको हो।