अन्तत: माधव नेपाल आफैले खनेको खाडलमा, एमालेले अघि बढायो कारवाही

काठमाडौँ । नेकपा एमालेको संगठनलाई धुजाधुजा पार्ने माधव नेपाल अन्तत: एमालेको कारवाहीमा पर्ने निश्चित भएको छ । आफ्नै पार्टीको सरकार ढाल्न सफल भएका नेपाललाई सुध्रिन बारम्बार अवसर दिँदा पनि विपक्षीसँग गठजोड र समानान्तर गतिविधि गर्न नछाडेपछि एमाले संस्थापनले कठोर कदम चाल्ने निर्णय गरेको हो ।

विरोधी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका नेपाललाई त्यसपछि पनि पार्टी हितविपरीतका गतिविधि त्याग्न भन्दै एमाले संस्थापनले निकै लचकता अपनाएको थियो । त्यसैका निम्ति एमालेका दुवैतर्फका कार्यदलले १० बुँदे सहमतिको दस्तावेज पनि तयार गरेको थियो । तर, नेपालले १० बुँदेलाई पनि चिन्दिनँ, एमालेलाई पार्टी नै मान्दिनँ भन्दै बेग्लै चुलो बाल्न नछाडेपछि कारवाहीको डण्डा उठाइएको हो ।

माधव नेपाल समूहलाई लक्षित गरी एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक चेतावनी जारी गरेका छन्, जसमा पार्टीविरोधी क्रियाकलापमा सहभागी नहुन भनिएको छ । नेकपा एमालेका नाममा लामो समयदेखि अनधिकृत गतिविधि भइरहेको उल्लेख गर्दै त्यस्ता गधिविधिमा सामेल भए कारवाही हुन सक्ने चेतावनी दिइएको छ ।

अब यो चेतावनीको उल्लंघन गरी पार्टी अनुशासनविपरीत बैठक र भेला गरिएमा त्यसका आयोजक र सहभागी दुवै कारवाहीमा पर्नेछन् । माधव नेपालले बुधबार नै केन्द्रीय समितिका सदस्यहरूको बैठक बोलाएका थिए । केही सदस्यले आफू उपस्थित हुन नसक्ने बताएपछि स्थगित गरिएको थियो । उक्त बैठक बिहीबार बस्ने भनिएको छ । त्यस्तो बैठकलाई पार्टीले मान्यता दिन नसक्ने र सहभागी भएमा त्यो पार्टी अनुशासनविपरीत हुने पनि सूचनामा संकेत गरिएको छ ।

यसअघि पनि पटकपटक नेपाल समूहले यस्तो चेतावनीको उल्लंघन गर्दै आएको छ । यही कारण नेता नेपालसहित कतिपयले कारवाही पनि बेहोरिसकेका छन् । तर, पार्टी एकताको सर्तमा उक्त कारवाही स्थगन गरिएको थियो । पार्टीलाई बचाउने मूल्यमा अपनाइएको लचकतालाई कमजोरीका रुपमा लिई झन् अराजक र पार्टीद्रोही गतिविधि गरेपछि अब सहन नसकिने निष्कर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

पार्टीप्रति गद्दारी गर्नेलाई अब कुनै पनि हालतमा नछाड्ने अठोट पार्टी नेतृत्वले लिएको छ । त्यसैले बिहीबारको बैठकमा जोजो सामेल हुन्छन्, ती नेता–कार्यकर्ता कारवाहीको सूचीमा पर्नेछन् । यसरी कारवाही भोग्नेमध्ये सबभन्दा बढी क्षति मन्त्री बन्न खुट्टा उचालेर बसेकाहरु बेहोर्नेछन् । उनीहरुको सांसद पद खोसिएपछि देउवा सरकारसँग बार्गेनिङ गर्ने नेपालको हैसियत पनि समाप्त हुनेछ ।

अहिले नेपालले एमाले संस्थापनसँग छुट्टै र कांग्रेस नेतृत्वको गठबन्धनमा छुट्टै बार्गेनिङ गरिरहेका छन् । पार्टीको कारवाहीपछि नेपालसँग एउटा पनि सांसद बाँकी रहने छैनन् । त्यसपछि उनी आफै पनि घर न घाटको अवस्थामा पुग्नेछन् ।

देउवा सरकारले संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याएर पार्टी फुटाउन सजिलो हुने विधेयक ल्याइदेओस् भनेर नेपालले पुकारा गरिरहेका छन् । तर, देउवालाई त्यस्तो विधेयक ल्याउन सजिलो छैन । एक त अहिलेको जारी अधिवेशन बजेट पारित नगरी अन्त्य गर्न मिल्दैन । अर्को, हिजो जुन अध्यादेशको विरोधमा कांग्रेस नेतृत्वको गठबन्धन बनेर सत्तामा स्थापित भएको थियो, अहिले त्यही अध्यादेश जारी गरेपछि जनतासामु नाक देखाउने ठाउँ रहने छैन ।
अब संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने समय पनि सरकारसँग नहुन सक्छ । त्यसअघि नै ओलीले नेपालमाथि कारवाहीको डण्डा बजाउन सक्नेछन् ।