एजेण्डाको राजनीतिमा ओली नै अगाडि, आउँदो चुनावमा प्रचण्ड, देउवा र नेपाल एकसाथ पछारिने

काठमाडौँ । नेकपा एमालेभित्रैका जिम्मेवार नेता गद्दार निस्केका कारण दुई तिहाइ बहुमतनजिकको पार्टी अहिले प्रमुख प्रतिपक्षमा बस्नुपरेको छ । नेपालमा कुनै पनि बलियो संस्था जिउँदोजाग्दा रहेको देख्न नसक्ने अदृश्य शक्तिले उहिल्यैदेखि पृष्ठभूमिमा षड्यन्त्र गर्दै आएको हो । त्यसैको पछिल्लो कडी एमालेको भाँडभैलो हो ।

तर, एमाले फुटाउँदा पनि संसदको सबैभन्दा ठूलो दल उही हो । एमालेले नचाहेसम्म हालको सत्ता गठबन्धनले संविधान संशोधन गर्न सक्ने छैन । कुनै पनि संवैधानिक पदाधिकारीविरुद्ध महाभियोग लगाउन सक्ने छैन । एमालेलाई बाहेक गरेर संसदीय गतिविधि अघि बढाउन सक्ने छैन । संसदीय समितिमा सबैभन्दा धेरै सभापति एमालेकै हुनेछन् । समितिका सदस्यहरु पनि एमालेकै धेरै हुनेछन् ।

जब विपक्षी सांसदहरुको उपस्थिति संसदमा बढी हुन्छ, त्यहाँ सत्तापक्ष स्वत: कमजोर हुन्छ । प्राविधिक रुपमा कांग्रेस नेतृत्वको गठबन्धनसँग बहुमत भए पनि केपी शर्मा ओलीजस्ता नेता विपक्षमा हुनु भनेको यो सरकारको सबैभन्दा ठूलो टाउको दु:खाइ हो । प्रधानमन्त्री शेरबहादुर देउवा र हालको सत्ता गठबन्धनका लागि योभन्दा पनि ठूलो टाउको दु:खाइ त ओलीसँग रहेका जब्बर एजेण्डा हुनेवाला छन् ।

ओलीले अहिलेसम्म मुद्दामा आधारित राजनीति गरे । उनले मुद्दा अघि सारे । मुद्दामा अडान लिए । समयअनुसार मुद्दा फेरेनन् । आफ्नो पदीय हैसियत हेरेर पनि मुद्दाप्रतिको अडान परिवर्तन गरेनन् । उनको यो असली चिनारी हो ।

जस्तो कि उनले माओवादी अराजकताको सधैँ विरोध गरे । अन्तत: त्यही माओवादीले उनलाई नेता स्वीकार गर्यो । नेकपाको प्रथम अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीका रुपमा पनि काँध थाप्यो । यो भनेको ओलीले अघि सारेका मुद्दाको जित थियो ।

कसै गरी पनि ओली माओवादीको बाटोमा लागेनन् । माओवादीलाई आफ्नो बाटोमा ल्याए । जब माओवादी फेरि बिच्कियो, ऊ आफ्नो बाटो लाग्यो । ओली जहाँको त्यहीँ छन् ।

ओलीले राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको अडान लिए । भारतीय हस्तक्षेपको विरोध गरे । इतिहासमा कसैले बोल्ने आँट नगरेको कालापानी अतिक्रमणको विरोध गरे । विपक्षमा हुँचा चर्का र क्रान्तिकारी नारा लगाउने तर सत्तामा गएपछि रुजेको बिरालोजस्तो बन्ने आम नेपाली नेताहरुको प्रवृत्ति ओलीले देखाएनन् । प्रधानमन्त्रीको कुर्सीबाटै सानसँग भने, ‘भारतीय सेना कालापानी छोड ।’

ओलीले मुखले बोल्ने मात्र काम गरेनन्, इतिहासमा छाप छाड्ने गरी केही अर्थपूर्ण पहलकदमी पनि लिए । कालापानी अतिक्रमणको उनले स्पष्ट शब्दमा विरोध गरे । लिखित रुपमै भारतलाई विरोधपत्र पठाए । कूटनीतिक वार्ताका लागि बारम्बार प्रस्ताव गरे । लिम्पियाधुरासम्मको नेपाली भूभागलाई नक्सामा समेटेर संसदीय अनुमोदन दिलाउने काम गरे ।
ओलीका पालामा ऐतिहासिक रुपमै सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाइयो । भारतीय सुरक्षाकर्मीको हेपाहा व्यवहारबाट आजित सीमा क्षेत्रका नागरिकलाई नेपाल राज्यका तर्फबाट अभिभावकत्व र संरक्षकत्व प्रदान गरे । कालापानीदेखि किमाथांकासम्म सयभन्दा बढी सीमा सुरक्षा बलका चौकी स्थापना गरे । यस कामको जिम्मा सशस्त्र प्रहरीलाई दिए । सशस्त्रलाई आड मिल्ने गरी नजिकै सेनाको तैनाथी पनि बढाए ।

भारतीय थिचोमिचोबाट आजित दार्चुलाको व्यास र तिंकर क्षेत्रमा नेपाली सेनामार्फत् हेलिकप्टरबाट सामान ओसारेर भए पनि सडक निर्माणलाई गति दिए । दशकौँ पुरानो योजना र सपनालाई व्यवहारमा कार्य रुप दिने काम ओलीले मात्र गरे ।
इतिहासमै पहिलोपल्ट नेपाली उत्पादन निर्यातको आँकडा १ खर्ब रुपैयाँ नाघ्यो, ओलीकै पालामा । इतिहासमै शोधनान्तर बचत ओलीकै पालामा उच्च विन्दुमा पुग्यो । जथाभावी विदेश भ्रमणको बेथिति ओलीकै पालामा रोकिए । महामारी, लकडाउन, भूकम्पजस्ता तमाम प्रतिकूलताका बीच पनि केही रुपान्तरणकारी योजना सम्पन्न हुने दिशामा अघि बढे ।

ओलीको अर्को मुद्दा विकास हो । वास्तवमा भन्ने हो भने नेपाली राजनीतिमा विकासको मुद्दा स्थापित गराउने, विकासको सपना देखाउने र विकासको भोक जगाउने राजनेता केपी ओली नै भए । उनीबाहेक कोही भएनन् । काठमाडौँको सडक चौडा पारेर केही समय बाबुराम भट्टराईले राज्यले आँटे धेरै काम गर्न सकिन्छ भन्ने सन्देश थिएका थिए । तर, उनले रुपान्तरणकारी योजना सफल बनाउनेतिर खासै पहल गर्न सकेनन् । त्यो काम ओलीले सके

ओली नभए सम्भवत: मेलम्ची काठमाडौँ आउने थिएन । प्रचण्डकी बुहारी हुँदासम्म गति नलिएको र झन् कचल्टिएको योजनालाई ओलीले आफ्नै पहलकदमीमा सम्पन्न गराइछाडे । त्यसैगरी काठमाडौँ तराई फास्ट ट्रयाक बन्ने दिशामा अघि बढेको छ । भैरहवाको गौतम बुद्ध बिमानस्थल र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पनि सम्पन्न हुने चरणमा पुगेका छन् ।
ओलीले रेलको सपना मात्र देखाएनन्, चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराएर बीआरआईअन्तर्गत नेपालको रेल परियोजना राख्न लगाए । त्यसको डीपीआर बन्ने क्रममा छ । ढिलोचाँडो यो आयोजना सम्पन्न हुने नै छ ।

दुनियाँलाई थाहा भएकै कुरा हो कि ओलीले मुद्दासहित राजनीति गरे र कम्तीमा २० वर्ष उनले शासन गर्ने भए भनेर धेरै शक्तिकेन्द्रहरु थर्कमान भए । प्रचण्ड, माधव नेपाल र वामदेव गौतमहरुले त आफ्नो राजनीतिक भविष्य नै धरापमा पर्ने भयो भन्ने बुझे । त्यही कारण ओलीविरुद्ध मोर्चाबन्दी गरे । लिम्पियाधुराविरोधीहरुले त्यसमा पुट दिए । ओलीलाई बल्लतल्ल गलाउन सके ।

अझै पनि अर्को चुनावसम्म ओलीले आफ्ना लागि नयाँ माहोल बनाइछाड्नेछन् । उनले जोहो गरेको खोप समेत लगाउन नसकेर देउवा सरकारले आफ्नो अक्षमता प्रदर्शन गरिसकेको छ । यो सरकारको अक्षमता भनेको देउवाको मात्र अक्षमता होइन । प्रचण्ड र माधव नेपालको समेत अक्षमता हो । देउवा, प्रचण्ड, नेपाल र उपेन्द्र यादवहरुलाई एकसाथ अकर्मण्य सावित गरी ओलीले आउँदो चुनावमा विपक्षीरहित ढंगले जित हासिल गर्न बेर लाग्ने छैन ।

किनभने, ओलीसँग मुद्दा छन् । विकासका मुद्दा छन् । राष्ट्रियता र स्वाभिमानका मुद्दा छन् । रुपान्तरणकारी योजनाका मुद्दा छन् । विकासे राजनीतिको मुद्दा उनीसँग छ । अरु कुनै पनि नेतासँग यो तहको दूरदृष्टि, अडान र राजनीतिक कौशल छैन । तसर्थ, ओलीको पुनरोदय निश्चित छ । अबको पुनरोदयले अहिलेका अग्रपंक्तिमा रहेका तर म्याद गुज्रिएका सबै नेताहरु विस्थापित हुनेछन् ।