माधव नेपाललाई एमाले प्रवेशको ढोका बन्द, अब प्रचण्डकै भर

काठमाडौँ । माधव नेपाललाई अब एमालेमा फर्किने बाटो पूर्णतः बन्द भएको छ । अब एमाले संस्थापनले पार्टी एकताका नाममा वार्ता पनि नगर्ने भएको छ । त्यसैले एकता कार्यदल पनि भंग गरिसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कुनै नेतालाई पार्टीमा फर्किन आग्रह नगर्ने बताएका छन् । कुनै नेता स्वेच्छाले फर्किन्छन् भने तिनलाई स्वागत गर्ने तर फकाउन नजाने नीति ओलीले अघि सारेका छन् ।

शुक्रबार नेपालका दूत बनेर गएका पाँच नेताहरुलाई ओलीले अर्ती उपदेश छाडेर पार्टीमा जिम्मेवारी सम्हालेर बस्न र अनुशासनलाई शिरोपर गर्न निर्देशन दिए । बैठक स्थगित गर्न पाँच भाइले गरेको आग्रह ठाडै अस्वीकार गरे । यसको अर्थ नि अब वार्ता र सहमतिका नाममा थप समय खर्च नगर्ने नीति ओलीले लिएको प्रस्ट हुन्छ ।

बढा, थकित, ऊर्जाहीन र कुण्ठाग्रस्त नेताहरुसँग वार्ता गरेर समय बर्बाद गर्नुभन्दा नयाँ युवा तथा किशोरहरुलाई प्रशिक्षित गरी पार्टीको भविष्य निर्माणमा जुट्नु बढी हितकर हुने निष्कर्षमा ओली पुगेका छन् । त्यसैले अब विगतमुखी होइन, भविष्यमुखी बन्ने प्रण एमाले संस्थापनले गरेको देखिन्छ ।

अहिले ओली सरकार ढाल्नका लागि माधव नेपालले जुन तहको गद्दारी गरे, त्यसवापत दण्डित हुन अझै बाँकी छ । त्यसको हिसाबकिताब ओली वा उनको समूहले नलिए पनि समयले अवश्य लिनेछ । इतिहासले उनको हिसाब राख्नेछ । भावी पुस्ताले पनि उनको मूल्यांकन गर्नेछ । इतिहासमा सबैभन्दा घटिया गद्दार को हुन् भनेर चिन्नुपर्यो भने माधव नेपालको नाम सबैभन्दा पहिला आउनेछ, जसले आफ्नै पार्टीको दुई तिहाई बहुमतलाई बालुवाको घरजस्तो बनाइदिए भने आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट बनाउन विपक्षी दलको नेताको पक्षमा हस्ताक्षर बुझाए ।

यतिसम्मको घटिया काम गरिसकेपछि एमालेमा फर्किने चेष्टा गर्नु नै पनि अर्को महाघटिया काम हो । जुन पार्टीले उनलाई शान शौकत दियो, उच्च ओहोदा दियो, पटकपटक सांसद जितायो, मन्त्रीदेखि प्रधानमन्त्री बनायो, त्यही पार्टीलाई धोका दिएर तल्लोस्तरमा ओर्लिने माधव नेपाललाई एमालेमा फर्किने ढोका बन्द भएपछि अब एक मात्र आस भरोसाको केन्द्र प्रचण्ड बन्ने भएका छन् ।

अब माधव नेपालले चाहेर पनि एमाले संगठनलाई चोइट्याउन नसक्ने भएका छन् । नेपालले आफूसँगै दुईचार नेतालाई बोकेर लैजान सक्लान्, देउवाको मन्त्रिमण्डलमा केहीलाई जागिर पनि दिन सक्लाछन् तर राजनीतिक पुनरुत्थान गराउन सक्ने छैनन् । युवा कार्यकर्ता र संगठन सञ्जाल विस्तार गर्न सक्ने छैनन् । यदि उनी राजनीतिमै रहने हो भने प्रचण्डसँगै हिँड्नुको विकल्प छैन । प्रचण्डका कार्यकर्ताको बुइँ चढेर कति खोला र जँघार तर्न सक्छन्, त्यो भने भविष्यले नै देखाउनेछ । तर, अब उनको हैसियत ओलीले भनेझैँ प्रचण्डको मामुली कार्यकर्ताभन्दा माथिको नहुने निश्चित भएको छ ।