हुलाकी सडक निर्माणमा भारतीयद्वारा अवरोध,सीमामा भारतीय दादागिरी

कञ्चनपुरको दक्षीण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले सीमा विवाद रहेको भन्दै अवरोध  पुर्‍याएको छ ।
आइतबार बेलौरी नगरपालिका–८ पचुँई क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा भारतीय सुरक्षाकर्मी आएर उक्त क्षेत्र भारतको भू–भागमा पर्ने दाबीसहित अवरोध पुर्‍याएको वडाध्यक्ष नन्दकुमार रानाले बताउनुभयो ।

आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक अवरोध गरे” वडाध्यक्ष रानाले भन्नुभयो, यसअघि पनि उक्त क्षेत्रमा भारतीय थिचोमिचो रहँदै आएको छ । उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ ।

जीपीएस नक्साबाट सडक निर्माणस्थल भारतको भूमिमा पर्ने दाबी भारतीय पक्षको छ रानाले भन्नुभयो, यहाँ धेरै ठाउँमा भारतले नेपाली भूमि कब्जा गरेको अवस्था छ ।” शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सडक अवरोधका विषयमा मङ्गलबार छलफल गरेर समाधान खोजिने बताउनुभयो ।

कञ्चनपुरको डोकेबजार–बेलौरी, बेलौरी बेल्डडाँडी र बेल्डाँडी दैजी खण्डमा विभाजन गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ । हुलाकी सडक योजना कार्यालय धनगढीका इञ्जिनीयर पद्मबहादुर मडैले उक्त क्षेत्रमा यसअघि पनि सडक निर्माणका क्रममा भारतीय पक्षले अवरोध गरेको बताउनुभयो ।