त्रिनगर भन्सार सिमानाकामा जारी छ उद्धार
कोरोनाका जोखिमका कारण कैलालीको त्रिनगर भन्सार सिमानाकाबाट स्वदेश भित्रिने नेपालीको उद्धार जारी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोसीले भारतका विभिन्न शहरबाट नेपाली स्वदेश भित्रिने क्रम जारी रहेका जानकारी दिनुभयो ।
उहाँले भन्सार नाकाबाट हालसम्म जम्मा ८६ हजार ५०० जना स्वदेश भित्रिएका बताउनुभयो दिनुभयो । जेठ ११ गतेदेखि २६ गतेसम्म सिमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै भएको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको छ उहाँले भन्नुभयो, अहिले दिनमा २०० को हाराहारीमा नेपाली स्वदेश भित्रिरहेका छन् ।
शुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म पनि भित्रिएका तथ्याङ्क रहेको छ । भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने अनुमान गरिएको छ ।
स्वाब सङ्कलन जारी
धनगढी उपमहानगरपालिकाले पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन जारी राखेको छ । नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र बेलीमा विभिन्न वडाका क्वारेन्टिन रहेकाको स्वाब सङ्कलन भइरहेको जनाइएको छ ।
कोरोना पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले आफ्नै आइसोलेशनमा राख्ने गरेको नगरप्रमुख नृपबहादुर वडको भनाइ छ । पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ भन्ने हाम्रो शुरु देखिकै माग हो”उहाँले भन्नुभयो, अहिले क्वारेन्टिनमा रहेकाको परीक्षण गर्दै छौँ, सम्भवन भएसम्म नमूनाका रुपमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पनि गर्नेछौँ ।
उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायणप्रसाद बरालले किटको अभावका कारण चाहेर पनि धेरै व्यक्तिको पिसिआर परीक्षण हुन नसकेको र अब दायरा बढ्ने बताउनुभयो । स्वास्थ्य अधिकृत लक्ष्मीराज उपाध्यायले विभिन्न क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब सङ्कलन सङ्कलन हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया