हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
नेपाल सरकार मन्त्रीस्तरको २०७७ असार १४ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार सविचस्तरको २०७७ असार १६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षक र प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उक्त निर्णयबाट पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरुलाई नेपाल प्रहरी अस्पताल महाराजगंजमा मंगलबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको हो ।
दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव महानिरीक्षक डा सुन्दर प्रसाद हैजु, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरु डा दामोदर पौडेल, डा संचिता दाहाल घिमिरे, डा मनोजकुमार यादव र कुशल रानाभाट रहनुभएको छ ।
यसैगरी प्राविधिक प्रहरी उपरीक्षकहरु ई हरि डंगोल, ई ईश्वर थापा, डा सुवर्ण कुँवर, डा छन्द बुढाथोकी, डा केदार खड्की, उन्देश्वर तिवारी र लालबाबु गिरी तथा प्राविधिक प्रहरी नायव उपरीक्षक भुपाल बाँनिया रहनुभएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरीको संस्थागत बिकासका लागि भरपर्दो मेरुदण्डको रुपमा रहेका प्राविधिक समूहका प्रहरी अधिकृत तथा जवानहरुले निर्वाह गर्दै आएको योगदान ज्यादै प्रशंसनीय रहेको बताउनुभयो ।
साथै आगामी दिनहरुमा सबै प्रहरी कर्माचारीहरुले अझ रचनात्मक तवरबाट संगठनको श्रीवृद्धिको लागि योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । व्यावसायिक दक्षता, निष्ठा तथा संगठन र राष्ट्रप्रतिको कर्तव्यबोधको मूल्याङकनका आधारमा पदोन्नति भएको उहाँले उल्लेख गर्नुभयो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन र आम नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा रही नेपाल प्रहरी अहोरात्र क्रियाशील रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस्ता चुनौतिपूर्ण घडीमा कर्तव्य पालना गर्दा कठिनाई र अभावका सीमालाई थाती राखी तोकिएको जिम्मेवारी पूरा गर्न सबैले संयमता र उच्च व्यावसायिक निष्ठाको प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
भौतिक साधन, स्रोत र सुविधालाई तुलना गरी मानवीय सेवाबाट विचलित नहुन एवम् अस्पतालबाट प्रवाह हुने सेवा र सुविधालाई थप गुणस्तरीय र प्रभावकारी बनाई नेपाल प्रहरी अस्पतालको साखलाई उच्च राख्न आपसी एकता र सामूहिक भावनाका साथ अघि बढ्न प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षक ज्ञवालीले निर्देशन समेत दिनुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक डा सुन्दर प्रसाद हैजुले संगठनले अंगिकार गरेको नीति अनुरुप प्राप्त पेशागत जिम्मेवारी अझै उत्कृष्ट ढंगबाट निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया