बालविवाह रोक्न १९० छोरीको बैंक खाता
कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्र्तगत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक रु एक हजार खातामा जम्मा गरिदिने गरेको छ ।
नगरपालिकाले यस वर्ष १९० छोरीको कृषि विकास बैंकमा खाता खोलिदिएको छ । नगरपालिकाले बालविवाह अन्त्यका लागि यो अभियान शुरु गरेको हो । यसरी खाता खोल्न आउने अभिभावकलाई नगरपालिकाले बालविवाहका असर, बालविवाहविरुद्ध भएको कानूनी व्यवस्था, अहिले टीकापुरको अवस्थाबारे जानकारीसमेत दिने गरेको छ ।
गत वैशाख ११ गते टीकापुर अस्पतालमा टीकापुर–३ की झरना विककी छोरी जन्मिइन् । छोरी जन्मिएपछि अस्पतालका स्वास्थ्यकर्मीले नगरपालिकामा जन्मदर्ता गरेमा बैंक खाता खोलिने जानकारी दिनुभयो । मलाई थाहै थिएन, छोरीको न्वारनपछि नगरपालिका गयौँ, त्यही दिन जन्मदर्ता गरियो, सिफारिस लिएर बैंक गएपछि खाता खोलियो”, झरनाले भन्नुभयो, “छोरी जन्मनेबित्तिकै छोरीको बैंक खाता, म त निकै खुशी भएँ । हाम्रा पालामा त छोरी जन्मे आमालाई समेत हेला गर्थे, अहिले त सरकार नै रकम दिन्छ ।
बालविवाह समाजमा अभ्यासका रुपमा विकास भएको देखियो, यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पार्छ”, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाहले भन्नुभयो, नगरपालिकाको उद्देश्य बालविवाह रोक्नुका साथै छोरीप्रति गर्व गर्ने वातावरण बनाउने पनि हो । नगरपालिकाले आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
नगरपालिकाले छोरीको खातामा हरेक वर्ष रु एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्नेछ । बीस वर्ष पूरा भएको छोरीलाई एकमुष्ट रु २० हजार उपलब्ध गराइनेछ ।
यो रकम २० वर्षअगावै विवाह गर्ने छोरीलाई भने दिइने छैन नगर प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “यो कार्यक्रमको एउटै उद्देश्य बालविवाह अन्त्य गर्ने हो । त्यसका साथै छोरीको महत्व बुझाउने प्रयास पनि हो ।” नगर प्रमुख रावलका अनुसार यो कार्यक्रमले समयमै घटना दर्ता गर्नतर्फ पनि अभिभावक सचेत हुनेछन् ।
टीकापुर अस्पतालको तथ्याङ्क हेर्दा अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन् । “बालविवाह गर्नेको सङ्ख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौँ”, नगर प्रमुख रावल भन्नुहुन्छ, “जन्मदर्ता बन्छ, छोरी र नगरपालिकाको नाममा संयुक्त खाता खोलिन्छ । बीस वर्षपछि विवाह गर्ने छोरीलाई मात्र एकमुष्ट रु २० हजार नगरपालिकाले दिनेछ ।”
आजभोलि छोरी जन्मने बित्तिकै अभिभावक जन्मदर्ता गर्न आउन थालेका थालेको महिला शाखा प्रमुख शाहले बताउनुभयो । “विगतमा आवश्यक परेमात्रै जन्मदर्ता गर्ने चलन थियो, यो कार्यक्रमले समयमै घटना दर्ता गर्ने बानीको समेत विकास भएको छ”, उहाँले भन्नुभयो ।
दिगो विकास लक्ष्यमा सन् २०३० सम्ममा राष्ट्रिय परिभाषाअनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाको अनुपात कम्तीमा आधाले घटाउने भनिएको छ ।
त्यो लक्ष्य पूरा गर्नका लागि टीकापुर नगरपालिकाले चलाएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले सहयोग पुग्ने उपप्रमुख केशरी विष्टको भनाइ छ ।
प्रतिक्रिया