देउवाको दोहोरो भूमिकाले ओली धरापमा

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको दोहोरो भूमिकाबारे समयमै चाल नपाउँदा प्रधानमन्त्री केपी शर्मा ओली आफै धरापमा परेका छन् । देउवाका कुरामा विश्वास गरेर ल्याएको अध्यादेश अहिले ओलीकै लागि प्रत्युत्पादक सावित भएको छ ।

आफ्नै पार्टीको असहयोगका कारण सरकार सञ्चालन र संवैधानिक निकायहरुलाई पूर्णता दिन अप्ठेरो झेलिरहेका बेला प्रधानमन्त्री ओलीले विपक्षी नेता देउवाबाट साथ पाएको ठानेका थिए । देउवाले साँझबिहान बालुवाटारमा भेट्न पुग्ने, हरेक कदममा साथ दिन्छु भन्ने र ओलीलाई गैरसंवैधानिक एवं अलोकप्रिय कदम चाल्न उक्साउने गरेका थिए । यो उनको चालबाजी मात्रै रहेको कुरा पछिल्लो संवैधानिक दुर्घटनाले पुष्टि गरेको छ ।

मंगलबार पनि सभामुख अग्नि सापकोटाले प्रचण्डको इशारामा संवैधानिक परिषदको बैठकमा ‘बंक’ हान्ने निश्चित थियो । पार्टीभित्रैका नेताहरुबीच किचलो भइरहेको र सभामुखको अनुपस्थितिमा बैठक बस्न नसक्ने अवस्था रहेको जान्दाजान्दै देउवा बालुवाटार गएका थिए । गणपूरक संख्या नपुगेर बैठक छलफलमै सीमित भयो । अख्तियार लगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि केही नामको बारेमा छलफल भयो । निर्णय गर्न नसक्ने भएपछि फेरि बैठक साँझका लागि सारियो । साँझ पनि सापकोटा बैठकमा नजाने निश्चित थियो । सापकोटाको अनुपस्थितिमा निर्णय हुन नसक्ने भएकाले ओलीले अध्यादेश ल्याइदिए ।

यी घटनाक्रम समेत देउवाको जानकारी र सहमतिमा भएका थिए । बिहान भागबण्डाका लागि ठीक्क पारिएका नाम र प्रक्रियामा सही गर्न साँझको बैठकमा देउवा आइपुग्लान् भन्ने विश्वास बालुवाटारको थियो । तर, अध्यादेशको सर्वत्र विरोध भएपछि देउवा पछि हटे । पार्टीभित्रैको विरोधी खेमाले घेराबन्दी गरिरहेका बेला संसदको प्रमुख प्रतिपक्षी दलका नेताबाट समेत धोका पाएपछि ओली आफै अप्ठेरामा परेका छन् ।