भाग्यमानी महावीर : जे मागे त्यही पाए
नेपाली राजनीतिमा कहिले कहीँ कल्पना भन्दा बाहिरका घटना देख्न, सुन्न र हेर्न पाइन्छ ।
आज पनि त्यस्तै भएको छ । कुनै पनि पार्टीमा संलग्न नभई, कुनै संगठनबिना नै निर्वाचनमा सहभागी भएर एक्लै चुनाव दिएका सांसदले मन्त्री बन्छु भन्ने कुरा यसअघिसम्म कल्पनाभन्दा बाहिरको विषय हुन्थ्यो ।
तर वर्तमान सरकारले स्वतन्त्र सांसद महावीर पुनलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएर त्यसलाई वास्तविकतामा परिणत गरिदिएको छ । आफ्नै पार्टीमा काबिल सांसद हुँदाहुँदै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले स्वतन्त्र चुनाव जितेका पुनलाई मन्त्री बनाएका छन् ।
यसअघिका सरकारले स्वतन्त्र सांसदलाई जिम्मेवारी दिने त परको कुरा उनीहरुले उठाएका मागलाई समेत बेवास्ता गर्ने प्रवृति देखिन्थ्यो । तर मन्त्री पुन भने यो मामिलामा भाग्मानी देखिएका छन् । सरकारले सुरुमा पुनले माग गरेको ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्याे । अहिले पुनलाई उनलै मागको मन्त्रालयको तालाचाबी सुम्पिदिएको छ ।
पुनलाई मन्त्रीको जिम्मेवारी दिएर प्रधानमन्त्री शाहले नेपाली राजनीतिमा नयाँ शैली अपनाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् । यसअघिको अन्तरिम सरकारमा पुनले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
आजैबाट मन्त्रालयको पदभार सम्हालेका पुनले आफू राजनीतिज्ञ नभई समाजसेवा गर्ने व्यक्ति भएको उल्लेख गर्दै बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने घोषणासमेत गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफ्ना आगामी योजना, कार्यशैली र मन्त्रालयको प्राथमिकताका बारेमा स्पष्ट पारेका छन्।
मन्त्री पुनले आफू कुनै पनि पार्टीको मान्छे नभएको र मन्त्रालयमा रहेर राजनीतिक पूर्वाग्रह नराख्ने प्रष्ट पारे। ‘म राजनीति गर्ने मान्छे होइन, मन्त्री भएर पनि समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण देखाउन चाहन्छु,’ उनले भने।
उनले आफ्नो उमेर बढी भए पनि सोच र दिमाग कलिलै रहेको दाबी गरे । प्रधानमन्त्रीलाई विज्ञान र प्रविधिको महत्व बुझेको जोश–जाँगर भएको युवा मन्त्री खोज्न सुझाव दिएको, तर त्यस्तो व्यक्ति नपाएपछि आफैं ‘पासोमा परेको’ उनले टिप्पणी गरे ।
काम गर्दै जाँदा बिग्रिन सक्ने तर त्यसबाट पाठ सिकेर अगाडि बढ्ने भन्दै उनले युवाहरूलाई नडराई नवप्रवर्तनको काममा लाग्न आग्रह गरेका छन् । देशभरका युवाहरूले ढुक्क भएर अनुसन्धान गर्न सक्ने गरी २ देखि ४ वटा नयाँ नवप्रवर्तन केन्द्रहरू खोल्ने योजनामा मन्त्री पुन छन् ।
आगामी ५ देखि १० वर्षभित्र नेपाललाई आवश्यक पर्ने साना सामग्रीहरू स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउनु मन्त्रालयको मुख्य लक्ष्य हुने उनले बताए नवप्रवर्तन र अनुसन्धानलाई ‘बच्चा हुर्काए जस्तै’ मन्त्रालयले हुर्काउने र सफल भएपछि उद्यमशील बनाउन उद्योग मन्त्रालयसँग समन्वय गर्ने उनको भनाइ छ ।
सरकारले छुट्याएको पुँजीगत खर्चको १ प्रतिशत बजेटमध्ये प्रशासनतर्फ एकदमै कम र अनुसन्धान तथा नवप्रवर्तनमा अधिकतम खर्च गर्ने नीति लिने बताउँदै उनले स्वदेश र विदेशमा रहेका प्रतिभाहरूलाई नयाँ ‘आइडिया’ लिएर आउन आह्वान गरेका छन् ।
नवनियुक्त मन्त्री पुनले नयाँ मन्त्रालयको जिम्मेवारी र प्रधामन्त्री शाहको विश्वासलाई कसरी सम्हाल्छन् त्यो भने समयले नै देखाउने छ ।
विद्युतीय गाडी आयात विवादमा अर्थ मन्त्रालयको तथ्यसहितको जवाफ
हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आज अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाइँदै
बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने
अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम
प्रतिक्रिया