मध्यपूर्व शान्ति सम्झौता अन्तिम चरण पुगेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच महिनौँदेखि जारी तनावपछि मध्यपूर्वमा शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

उनका अनुसार पछिल्लो समय पुनः चर्किएको शत्रुता रोकिएसँगै वार्ताकारहरू निर्णायक मोडमा पुगेका हुन् । राष्ट्रपति ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै इरान र इजरायलबीचको वार्ता अब ‘अन्तिम चरण’ मा प्रवेश गरेको बताएका हुन् ।

उनले यसलाई ‘धेरै राम्रो सम्झौता’ को नजिक पुगेको प्रक्रिया भन्दै केही दिन वा हप्ताभित्र निष्कर्ष निस्कन सक्ने संकेत गरेका छन् । यसअघि उनले बारम्बार तेहरानसँग शान्ति सम्झौता नजिकै रहेको दाबी गर्दै आए पनि कूटनीतिक प्रक्रिया बारम्बार अवरुद्ध हुँदै आएको छ ।

अप्रिल ८ देखि लागू युद्ध विरामपछि पनि दुवै पक्षबीच सीमित गोलीबारी र तनाव जारी रहेको उल्लेख गरिएको छ । ट्रम्पका अनुसार इरान र इजरायलबीच बारम्बार ‘आक्रमण र प्रतिआक्रमण’ भइरहे पनि दुवै पक्षले हाल आफूबाट रोक्ने सहमति गरेको अवस्था छ ।

उनले यो प्रक्रियालाई ‘अज्ञानता वा मूर्खताबाट बाहिर निस्किने अवसर’ का रूपमा व्याख्या गरे । इरानले कुनै पनि सम्झौतामा लेबनानको विषय समेटिनुपर्ने अडान दोहोर्याएको छ । साथै इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध सैन्य दबाब बढाइरहेका बेला आइतबार इजरायलमा क्षेप्यास्त्र प्रहार भएको बताइएको छ, जसले पुनः इजरायली प्रतिकारलाई निम्त्याएको थियो ।

त्यसपछि इरानले सैन्य कारबाही रोक्ने घोषणा गरे पनि केही घण्टामै पुनः क्षेप्यास्त्र प्रहार भएको र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त मोर्चामा स्थिति नियन्त्रणमा आएको बताएका विवरणहरू सार्वजनिक भएका छन् ।

नेतान्याहुले इरानले पुनः आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिँदै ‘पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने’ बताएका छन् । इजरायली रक्षा मन्त्री इजरायल काट्जले भने लेबनानमा सैन्य अभियान निरन्तर रहने स्पष्ट पारे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि इजरायल र इरान दुवैलाई तत्काल गोलीबारी रोक्न आग्रह गरेका थिए । उनले नेतान्याहुलाई फोन गरेर इजरायललाई संयमता अपनाउन चेतावनी दिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले संयुक्त राज्य अमेरिका र इजरायलका रणनीतिक चासोहरू धेरैजसो मिल्ने भए पनि केही अवस्थामा फरक हुन सक्ने बताएका छन् । क्षेत्रीय रूपमा लेबनानमा हिंसा तीव्र बनेको छ । इजरायली आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले आफ्ना फौजतर्फ प्रक्षेपण गरिएका केही प्रोजेक्टाइल रोकेको र कुनै हताहत नभएको दाबी गरेको छ । यमनबाट आएको भनिएको हवाई लक्ष्य पनि अवरोध गरिएको बताइएको छ ।

यसैबीच इरान र इजरायलबीचको क्षेप्यास्त्र आदानप्रदानपछि इरान र इजरायल दुवैमा ठूलो क्षति नभएको प्रारम्भिक जानकारी आएको छ । तर मध्यपूर्वका संवेदनशील व्यापारिक मार्ग, विशेषगरी हर्मुज जलघाँटीमा ढुवानी अवरुद्ध भएको उल्लेख गरिएको छ ।

इरानको राजधानी तेहरानमा भने युद्धको डरबीच पनि जीवन आंशिक रूपमा सामान्य देखिएको छ । क्याफेहरूमा भीड देखिएको, पेट्रोल पम्पमा लाइन बढेको र नागरिकहरू अनिश्चितताको अवस्था व्यक्त गरिरहेको विवरण सार्वजनिक भएको छ । इजरायलको तेल अभिवमा भने क्षेप्यास्त्र चेतावनी सायरनपछि नागरिकहरू आश्रयस्थलतर्फ गएको जनाइएको छ ।

यसैबिच कूटनीतिक प्रयास जारी रहेको र पाकिस्तानसहितका मध्यस्थकर्ताहरू शान्ति प्रक्रियामा सक्रिय रहेको बताइएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ताले कूटनीति जारी रहेको तर लडाइँले त्यसलाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन् । तेहरान र वार्ताको टेबल अझै खुला रहेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।