ट्रम्प र नेतन्याहुबीच खटपट

राष्ट्रपति डोनाल्ड ट्रम्पको अनिच्छाका बाबजुद मध्यपूर्वमा अमेरिका पुन: एक पटक ठुलो सैन्य द्वन्द्वमा फस्ने खतरा बढेको छ ।

विगत २४ घण्टामा राष्ट्रपति ट्रम्पले इजरायल र इरानलाई ठुलो युद्धको मुखबाट केही समयका लागि पछि तान्न सफल भएपनि यो शान्ति कति समय टिक्छ भन्ने सुनिश्चित छैन । द्वन्द्व सुरु भएको १०० दिन पुग्दा पनि ट्रम्पले युद्ध अन्त्य गर्ने कुनै ठोस सम्झौता गराउन सकेका छैनन् ।

यस घटनाक्रममा ट्रम्प दोहोरो मारमा परेका छन् । एकातिर इरानी मिसाइल आक्रमणको जवाफ नदिई बस्न आफ्ना प्रमुख सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लागि असम्भव जस्तै थियो भन्ने उनले बुझेका थिए । अर्कातिर, यो आक्रमण–प्रत्याक्रमणको शृङ्खलाले पूर्ण रूपमा युद्ध निम्त्याउनेमा उनी चिन्तित थिए ।

‘एक्सियोस’ सँगको एक फोन अन्तर्वार्तामा ट्रम्पले आफूले नेतन्याहुलाई चेतावनी दिँदै यदि उनी इरानसँग फेरि युद्धमा होमिए इजरायलले एक्लै लड्नुपर्ने परिस्थिति आउन सक्ने बताएको खुलासा गरेका छन् ।

यो पछिल्लो तनाव आइतबार बिहान इजरायलले बेरुतमा हिजबुल्लाहको सैन्य स्थानमा हमला गरेपछि सुरु भएको हो । इजरायली स्रोतका अनुसार, इजरायली सेनाले यस हमलाको पूर्वजानकारी अमेरिकी सेन्ट्रल कमान्डलाई दिएको भए पनि ह्वाइट हाउसलाई भने दिएको थिएन ।

केही दिनअघि मात्रै फोन गरेर इजरायलको यस्तै योजनालाई रोकेका ट्रम्प यस हमलाबाट निकै असन्तुष्ट बनेका थिए । इजरायलले बेरुतमा हमला गरेमा जवाफी मिसाइल प्रहार गर्ने प्रतिबद्धता जनाएको इरानले त्यसपछि इजरायलतर्फ मिसाइलको वर्षा गर्‍यो ।

यसपछि परिस्थितिलाई नियन्त्रणमा लिन ह्वाइट हाउसले पर्दा पछाडि तीव्र कूटनीतिक प्रयास सुरु गर्‍यो ।

आइतबार साँझ ट्रम्पले नेतन्याहुलाई फोन गरेर जवाफी कारबाही नगर्न आग्रह गरे । ट्रम्पले कि त केही दिनमै इरानसँग सम्झौता हुने र यो सैन्य टकरावको आवश्यकता नै नरहने, अथवा सम्झौता नभए इरान विरुद्धको हमलाको नेतृत्व आफैँले गर्नसक्ने तर्क गरे ।

केही दिनअघि ट्रम्पले नेतन्याहुलाई ‘पागल’ भन्दै चिच्याएको फोन वार्ताको तुलनामा यो संवाद निकै शान्त र शिष्ट भएको अधिकारीहरूले बताएका छन् ।

तर, नेतन्याहुले इरानी हमलाको जवाफ नदिनु इजरायल, अमेरिका र ट्रम्पले गरिरहेको वार्ताका लागिसमेत घातक हुने तर्क गरे । इरानविरुद्ध कदम नचाल्दा इरानको हात माथि पर्ने र उसले अमेरिका तथा इजरायललाई तर्साउनसक्ने सन्देश जाने नेतन्याहुको बुझाइ थियो ।

यो कुराकानी नेतन्याहुको स्पष्ट निर्णयबिना नै टुङ्गियो । ट्रम्पले आक्रमणको विरोध गरे पनि ‘कडा रूपमा नरोकेको’ ठानेर नेतन्याहुले आफ्ना सैन्य कमान्डरहरूसँगको बैठकपछि हमला अगाडि बढाउने निर्णय ह्वाइट हाउसलाई सुनाए ।

ट्रम्पले अन्तर्वार्तामा इजरायलले निकै ढिलो जानकारी दिएको र जहाजहरू उडिसकेको भए पनि आफूले इजरायली हमलालाई सीमित गराएको दाबी गरे । इजरायलले इरानको सबैभन्दा ठुलो पेट्रोकेमिकल प्लान्ट र तेहरानका अन्य क्षेत्रमा बमबारी गरेपछि इरानले पनि तेल अवीवलाई निशाना बनाएर पुन: मिसाइल प्रहार गर्‍यो ।

सोमबार बिहान दुवै पक्षबिच दुई चरणसम्म हमला र प्रत्यामला भए, जसले स्थिति पूर्ण युद्धको नजिक पुर्‍यायो । यस हमलामा अमेरिकी सेना सहभागी नभए पनि इरानी मिसाइलहरू खसाल्न उसले इजरायललाई मद्दत गरेको थियो ।

ट्रम्पका अनुसार सो क्षेत्रका पाँच देशले उनलाई फोन गरेर नेतन्याहुलाई रोक्न दबाब दिन आग्रह गरेका थिए । सोमबार बिहान इरानले पनि यदि इजरायल रोकिन्छ भने आफूहरू पनि थप हमला नगर्न तयार रहेको सन्देश अमेरिकालाई पठाएको ट्रम्पले बताए ।

तर, इजरायल सोमबार इरानका दर्जनौँ संवेदनशील स्थानमा अहिलेसम्मकै ठुलो आक्रमणको तयारीमा थियो । त्यसपछि ट्रम्पले पुन: नेतन्याहुलाई फोन गरेर कडा चेतावनी दिँदै भने, ‘तिमीले सावधानी अपनाउनु राम्रो हुन्छ, नत्र तिमी चाँडै एक्लो पर्नेछौं ।’

ट्रम्पको यस कडा चेतावनीपछि नेतन्याहुले आफ्ना सैन्य कमान्डरहरूलाई ती हमलाहरू रद्द गर्न निर्देशन दिए ।

ट्रम्पले अझै पनि इरान सम्झौताका लागि तयार रहेको र इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने एक उत्कृष्ट सम्झौता चाँडै हुने दाबी गरिरहेका छन् । तर, इरानका संसदीय सभामुख तथा मुख्य वार्ताकार मोहम्मद–बाघेर घालिबाफले ट्रम्पका दाबीहरू सम्झौताको मस्यौदा विपरित रहेको भन्दै आफूहरूलाई अमेरिकामाथि कुनै विश्वास नभएको बताएका छन् ।

अमेरिकी र इजरायली स्रोतहरूका अनुसार यी घटनाक्रमले अमेरिका र इजरायलको रणनीतिक हित तथा ट्रम्प र नेतन्याहुको राजनीतिक स्वार्थ कति फरक दिशामा गइरहेको छ भन्ने पुष्टि गर्छ ।

एक अमेरिकी अधिकारीले यसको सार खिच्दै भनेका छन्, ‘नेतन्याहुलाई इजरायलमा आफ्नो राजनीतिक अस्तित्व जोगाउन युद्ध जारी राख्नुपरेको छ, र ट्रम्पलाई अमेरिकामा आफ्नो राजनीतिक अस्तित्व जोगाउन युद्ध अन्त्य गर्नु परेको छ ।’