अर्थमन्त्री वाग्लेमाथि एमालेको आरोपः ट्रकमा बोक्नुपर्ने गरी आर्थिक चलखेल भयो

काठमाण्डु– एमाले सांसद् क्षितिज थेबेले अर्थ विधेयक पटकपटक हेरहेर गरेर ‘ठूलै ट्रकमा पनि नअटाउने’ गरी रकम चलखेल भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार थेबेले उक्त चलखेलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संलग्नता देखिएको आरोप लगाए । उक्त विषय गम्भीर भएकाले अर्थमन्त्री वाग्लेले नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।


१५ जेठमा बजेट आएकै दिन संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड भएको विधेयकमा करका दर फरक रहेको थेबेले उल्लेख गरे ।

‘जेठ १५ मा संसदमा दर्ता भएको आर्थिक विधेयकमा २० लाखदेखि ३० लाखसम्मका इलेक्ट्रिक भेहिकलको दररेट छुटेको थियो । भोलिपल्ट मन्त्रालयको बेवसाइटबाट डिलिट भयो र फेरि सच्याएर अपलोड गरियो । हामी त सोझो मान्छे, लागेको थियो यो माननीयय त्रुटि हो । टाइपिङ मिस्टेक हो । तर, आज मिडियाभरि प्रश्नै–प्रश्न छन् । समाजमा प्रश्नै–प्रश्न छ । बजारमा कोलाहल छ । यो त टाइपिङ मिस्टेक होइन रहेछ । नियतबस गरिएको रहेछ । भन्सारका कमर्हचारीहरु निलम्बित भइसक्नुभएको छ’, थेबेले भने, ‘यति ठूलो चलखेल भएछ कि यसलाई क्यासमा बदल्ने भए एउटा भरियाले बोक्न नसक्ने रहेछ, ठूलो ट्रक चाहिने रहेछ ।’