शहीद परिवारद्वारा मधेस प्रदेश भवन घेराउ
जनकपुरधाम। मधेस आन्दोलनका शहीद परिवारहरूले विभिन्न माग राख्दै मधेस प्रदेश भवन घेराउ गरेका छन्।
सरकारले आफ्ना मागहरूको सुनुवाइ नगरेको भन्दै उनीहरूले मंगलबार मधेस प्रदेश भवनको मुख्यद्वार अगाडि प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले मधेस शहीद प्रतिष्ठानलाई स्वायत्त संस्था बनाउनुपर्ने, शहीद परिवारलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।
मधेस आन्दोलनमा ६३ जना व्यक्तिले शहादत प्राप्त गरेका थिए। लालबाबु राउत नेतृत्वको तत्कालीन प्रदेश सरकारले ५२ जना शहीद परिवारका सदस्यलाई रोजगारीका लागि नियुक्तिपत्र वितरण गरेको थियो। तर तीमध्ये २५ जनाले मात्र रोजगारी प्राप्त गरेका थिए।
हाल तीमध्ये केवल १० जना मात्र विभिन्न सरकारी कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत रहेको बताइएको छ।
प्रदेश सरकारले शहीद परिवारलाई उपलब्ध गराउने भनिएका सेवा–सुविधाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै उनीहरूले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।
प्रदर्शनकारीहरूले पहिलो चरणमा प्रदेश भवन घेराउ गरेको जनाउँदै आफ्ना माग पूरा नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
मधेशी शहीद प्रतिष्ठानका सदस्य तथा शहीद चन्दन पटेलका पिता अवधेश पटेलका अनुसार गत वर्ष प्रदेश सरकारको लापरबाहीका कारण प्रतिष्ठानका लागि छुट्याइएको बजेट खर्च हुन नसकी फ्रिज भएको थियो।
शहीद परिवारहरूले आफ्ना परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्न, बालबालिकाको शिक्षाको सुनिश्चितता गर्न तथा अन्य आवश्यक सेवा–सुविधा उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन्।
सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
सांसद ज्ञानु पौडेल भन्छिन्- संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो
पर्यटकका आर्कषणमा ऐना पहरा
मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन
"शपथ खानुपर्ने भए पहिला घर गएर दौरा सुरुवाल लगाउँछु, अहिले त मःमः पो खाँद…
प्रतिनिधि सभाको बैठक आज पनि स्थगित
प्रतिक्रिया