योगेश भट्टराईको स्वीकारोक्ति: रवि–बालेनलाई खनेको खाल्डोमा ओली आफैं परे

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराई ले पार्टी अध्यक्ष केपी शर्मा ओली का निर्वाचनअघिका अभिव्यक्तिले एमालेलाई ठूलो राजनीतिक क्षति पुगेको स्वीकार गरेका छन्।

भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रवि लामिछाने लगायत नयाँ राजनीतिक शक्तिलाई लक्षित गर्दै गरिएको टिप्पणी उल्टै एमालेकै लागि घातक बनेको बताएका हुन्।

उनले भने, “अहङ्कारी शैलीमा निर्वाचनअघि कुनै जाति विशेष र खासगरी नयाँ आएका साथीहरूलाई लक्षित गरेर बोल्दा एमालेको यो हालत भयो। हामी साढे २८ लाख मतबाट साढे १४ लाखमा झर्यौं। अझै पनि उहाँको अहंकार उस्तै छ। यसमा हाम्रो मुख्य आपत्ति छ।”

भट्टराईको यो अभिव्यक्तिलाई एमालेभित्र नेतृत्व शैली र निर्वाचन रणनीतिबारे उठेको असन्तुष्टिको रूपमा हेरिएको छ। उनले पार्टीले विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने र जनताको भावना बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनको टिप्पणीले एमालेभित्र नेतृत्वको कार्यशैली र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सुरु गराएको छ।