ट्रम्पको चेतावनीका बाबजुद ताइवानले भन्यो- हामी स्वतन्त्र छौँ

काठमाडौं । ताइवानले आफू एक ‘स्वतन्त्र राष्ट्र’ भएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा गर्नबाट बच्न चेतावनी दिएको केही समयपछि ताइवानले यस्तो घोषणा गरेको हो ।

ताइवानको विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, “ताइवान एक सार्वभौम र स्वतन्त्र लोकतान्त्रिक राष्ट्र हो र यो पिपुल्स रिपब्लिक अफ चाइना (चीन) को अधीनमा छैन ।” मन्त्रालयले अमेरिकाद्वारा हतियार आपूर्ति ताइवानको सुरक्षाप्रतिको प्रतिबद्धताको हिस्सा भएको पनि जनाएको छ ।

चीनको राजकीय भ्रमण पूरा गरेर फर्किएका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुद्दामा समर्थन नगर्न आग्रह गरेका थिए । त्यसलगत्तै ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा नगर्न आह्वान गरेपछि ताइवानको यस्तो प्रतिक्रिया आएको हो ।

चीनले बलपूर्वक नियन्त्रण नगरोस् भनेर ताइवान लामो समयदेखि आफ्नो सुरक्षाका लागि अमेरिकाको समर्थनमा निर्भर रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दै लगातार दाबी गर्दै आएको छ ।

ताइवानको यो प्रतिक्रिया त्यतिबेला आएको हो, जब ट्रम्पले एक अन्तर्वार्तामा आफूले ताइवानले औपचारिक स्वतन्त्रताको घोषणा गरोस् भन्ने नचाहेको बताएका थिए ।

फक्स न्यूजको कार्यक्रममा ट्रम्पले भनेका थिए, “म कसैले स्वतन्त्रताको घोषणा गरोस् भन्ने चाहन्नँ । हामीलाई नौ हजार ५०० माइल टाढा गएर युद्ध लड्नुपर्ने स्थिति चाहिँदैन ।”

उनले यस क्षेत्रमा तनाव कम गर्न चाहेको कुरामा जोड दिएका थिए । ट्रम्पले भने, “म उनीहरू शान्त रहून् भन्ने चाहन्छु । म चीन पनि शान्त रहोस् भन्ने चाहन्छु । हामी युद्ध चाहँदैनौँ ।” उनले यथास्थिति कायम रहिरहे चीनले पनि त्यसलाई स्वीकार गर्न सक्ने आफ्नो विश्वास रहेको बताए ।

अमेरिकाले आधिकारिक रूपमा केवल चीन सरकारलाई मात्र मान्यता दिन्छ र ताइवानको औपचारिक स्वतन्त्रताको समर्थन गर्दैन । यद्यपि, अमेरिकाले आफू स्वतन्त्रताको पक्षमा छ वा विपक्षमा भन्ने विषयमा सधैँ स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।

अमेरिकी कानुनअन्तर्गत अमेरिका ताइवानलाई आत्मरक्षाका लागि हतियार उपलब्ध गराउन बाध्य छ । तर, कुनै संघर्ष वा युद्धको स्थितिमा अमेरिकी सेनाले प्रत्यक्ष हस्तक्षेप गर्छ कि गर्दैन भन्ने विषय अस्पष्ट नै राखिएको छ ।

बेइजिङमा भएको वार्ताका क्रममा सी चिनफिङले ताइवान मुद्दालाई लिएर ट्रम्पलाई चेतावनी दिएका थिए । उनले यस संवेदनशील विषयमा चालिने कुनै पनि गलत कदमले संघर्ष निम्त्याउन सक्ने बताएका थिए ।

ताइवानका राष्ट्रपति लाइ चिङ तेको धारणा अनुसार, यो टापु पहिलेदेखि नै स्वतन्त्र छ र यसका लागि कुनै औपचारिक घोषणाको आवश्यकता छैन । ताइवानको राष्ट्रपति कार्यालयले शनिबार अमेरिकाले ताइवानसम्बन्धी आफ्नो नीतिमा कुनै परिवर्तन नगरेको कुरा पटक–पटक दोहो¥याइएको पनि जनाएको छ ।

कार्यालयकी प्रवक्ता करेन कुओले वक्तव्यमा भनिन्, “ताइवान र अमेरिकाबीचको सहयोग सधैँ व्यावहारिक रूपमा देखिएको छ ।” उनले ताइवान अमेरिकासँगको आफ्नो सम्बन्ध अझ मजबुत बनाउन प्रतिबद्ध रहेको पनि बताइन् ।

बेइजिङ बैठकअघि ट्रम्पले आफूले ताइवानलाई अमेरिकी हतियार आपूर्तिको मुद्दामा सी चिनफिङसँग छलफल गर्ने बताएका थिए । यो कदम अमेरिकाको पूर्व नीतिभन्दा फरक मानिएको छ, जसअन्तर्गत यस विषयमा चीनसँग परामर्श गरिँदैनथ्यो ।

हालै ताइवानको संसद्ले २५ अर्ब डलरको रक्षा बजेट स्वीकृत गरेको छ, जसको उपयोग अमेरिकी हतियार खरिदका लागि गरिनेछ ।

कानुन निर्माताहरूका अनुसार, यसमा डिसेम्बरमा घोषित ११ अर्ब एक करोड डलरको हतियार प्याकेजमध्येबाट करिब ९ अर्ब डलर समावेश छ । यसबाहेक १५ अर्ब डलरभन्दा बढीको दोस्रो चरणको हतियार बिक्री पनि प्रस्तावित छ, जसलाई अमेरिकाले अहिलेसम्म स्वीकृति दिएको छैन ।

वासिङ्टन फर्कने क्रममा ट्रम्पले पत्रकारहरूलाई आफूले हतियार बिक्रीको मुद्दामा चाँडै निर्णय लिने बताएका थिए । यस विषयमा ताइवानको विदेश मन्त्रालयले हतियार केवल अमेरिकाको सुरक्षा प्रतिबद्धता मात्र नभई क्षेत्रीय खतराविरुद्धको साझा निवारक उपाय पनि भएको जनाएको छ ।