ट्रम्पको दाबी: विश्वकै दोस्रो उच्च ‘आतंकवादी’ मार्‍यौँ, आईएसआईएसलाई धक्का दियौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाली सेनासँग मिलेर अमेरिकी सेनाले विश्वकै 'सक्रिय आतंकवादी'लाई मारेको दाबी गरेका छन्।

 

ट्रम्पले शनिबार बताएअनुसार मारिएका व्यक्ति अबु-बिलाल अल-मिनुकी हुन्। ‘आतंकवादी समूह’ आईएसआईएससँग सम्बद्ध उनी विश्वकै दोस्रा उच्च अधिकारी थिए।

 

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘आज राति मेरो आदेशमा अमेरिकी सेना र नाइजेरियाली सेनाले धेरै कठिन र सुनियोजित अभियान सफलतापूर्वक सम्पन्न गरेका छन्। यस अभियानको उद्देश्य विश्वको सबैभन्दा सक्रिय आतंककारीलाई युद्धभूमिबाट हटाउनु थियो।’

 

उनले अगाडि लेखेका छन्, ‘अबु-बिलाल अल-मिनुकी आईएसआईएसका विश्वकै दोस्रो उच्च अधिकारी थिए, जो अफ्रिकामा लुकेका थिए। यद्यपि हामीसँग स्रोत थिए, जसले उनका गतिविधिको जानकारी दिन्थे। अब उनले अफ्रिकाका मानिसलाई धम्क्याउन वा अमेरिकीहरूविरुद्ध आक्रमणको योजना बनाउन मद्दत गर्न सक्ने छैनन्।’

 

उनको हत्याले आईएसआईएसको विश्वव्यापी शक्तिलाई नै व्यापक मात्रामा कमजोर बनाएको दाबी ट्रम्पले गरेका छन्। 

यस अभियानमा सहयोग गरेकामा उनले नाइजेरियाली सरकारलाई धन्यवाद पनि दिएका छन्।