पोल्यान्डमा चार हजार सैनिक परिचालन गर्ने निर्णयबाट किन पछि हट्यो अमेरिका ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जर्मनीबाट हजारौँ सैनिक फिर्ता बोलाउने घोषणा गरेपछि पेन्टागनले पोल्यान्डमा हुने भनिएको चार हजार अमेरिकी सैनिकहरूको परिचालन स्थगित गरेको छ । 

अमेरिकी सेनाका कार्यवाहक चिफ अफ स्टाफ जनरल क्रिस्टोफर लानेभले अमेरिकी युरोपेली कमान्डले सैनिक संख्या कटौतीसम्बन्धी निर्देशन प्राप्त गरेको बताएका छन् ।

अमेरिकी सदनको ‘आम्र्ड सर्भिसेज कमिटी’को सुनुवाइमा लानेभले भने, “त्यस ब्रिगेडलाई उक्त क्षेत्रमा परिचालन नगर्नु नै सबैभन्दा उपयुक्त विकल्प देखियो ।” यद्यपि, उनले यस निर्णयको विस्तृत कारण वा रणनीतिक औचित्यबारे थप खुलाएनन् ।

उक्त सुनुवाइमै सहभागी अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले यो सैन्य परिचालन केही दिनअघि नै रोकिएको जानकारी दिए ।

कमिटीका सदस्य तथा कनेक्टिकटका डेमोक्रेटिक सांसद जो कोर्टनीले यस कदमले भयानक सन्देश प्रवाह गर्ने टिप्पणी गर्दै अमेरिकी सहयोगी राष्ट्रहरूले यस घटनालाई नजिकबाट नियालिरहेको बताए ।

हाउस आम्र्ड सर्भिसेज कमिटीका वरिष्ठ रिपब्लिकन सदस्य माइक रोजर्सले भने, “यहाँ वास्तवमा के भइरहेको छ भन्नेबारे हामी स्पष्ट छैनौँ । तर, के कुरा भन्न सक्छु भने जुन ढंगले यो निर्णय अघि बढाइयो, त्यसप्रति हामी सन्तुष्ट छैनौँ । यस विषयमा कुनै औपचारिक परामर्श गरिएको छैन ।”

नेब्रास्काका रिपब्लिकन सांसद डन बेकनले यस कदमबाट पोल्यान्डका अधिकारीहरू स्तब्ध भएको बताएका छन् ।
उनले यस निर्णयलाई निन्दनीय भन्दै भने, “हामीले पोल्यान्डप्रति भर्खरै जे गर्‍यौँ, त्यो हाम्रो देशका लागि लाजमर्दो विषय हो ।”

बेकनले यस निर्णयका लागि हाउस आम्र्ड सर्भिसेज कमिटीले पेन्टागन प्रमुख पीट हेगसेथलाई जबाफदेही बनाउनुपर्ने माग गरेका छन् ।

यद्यपि, पेन्टागनका प्रवक्ता जोएल वाल्डेजले सैनिक कटौती व्यापक र बहुस्तरीय मूल्यांकनपछि गरिएको दाबी गरेका छन् । उनले भने, “यो कुनै आकस्मिक वा अन्तिम समयमा गरिएको निर्णय होइन ।”

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पत्रकार सम्मेलनमा आफूलाई यो निर्णय केवल सैन्य व्यवस्थापनसँग सम्बन्धित रहेको र यसले पोल्यान्डको सुरक्षा वा प्रतिरोध क्षमतामा प्रत्यक्ष असर नपार्ने आश्वासन दिइएको बताएका छन् ।

यो निर्णय युक्रेनमाथि रुसको आक्रमण जारी रहेका बेला आएको हो । पछिल्ला दिनहरूमा रुसले युक्रेनमाथि घातक हमलाहरू तीव्र बनाएको छ ।

राष्ट्रपति ट्रम्पले यसै महिनाको सुरुआतमा अमेरिकाले जर्मनीबाट पाँच हजार सैनिक फिर्ता गर्ने बताएका थिए । जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरान युद्धको सन्दर्भमा इरानी नेतृत्वले अमेरिकालाई अपमानित गरिरहेको टिप्पणी गरेपछि ट्रम्पले कडा प्रतिक्रिया दिएका थिए । ट्रम्पले मर्जलाई चिनियाँ शैलीमा आफ्नो भत्किएको देश सुधार्नमा ध्यान दिनुपर्ने टिप्पणी गरेका थिए ।

यसैबीच, इस्टोनियामा आयोजित एक सुरक्षा कार्यक्रममा हतियार नियन्त्रण तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि अमेरिकी उपविदेश मन्त्री थोमस जी. डिनानोले युरोपमा अमेरिकी सैनिक कटौतीको योजना स्पष्ट रूपमा अघि बढिरहेको बताएका थिए । तर, उनले अमेरिका युरोप छोडेर कतै नजाने पनि स्पष्ट पारका छन् ।