सहकारीको बचत फिर्ता गर्नका लागि ९० दिनभित्र आधार दिनसक्छौं : डीपी अर्याल

बालुवाटारमा जारी विरोध प्रदर्शनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सहकारीको बचत फिर्ता गर्नका लागि ९० दिनभित्र आधार प्रदान गर्ने दाबी गरेका छन्।

उनले भने, “हामीले ६ महिना अघि नै सहकारीको समस्याबारे सरकारलाई प्रतिवेदन बुझाएका थियौँ, तर सरकारले बेवास्ता गरेपछि हामी सडकमा आएका हौँ।”

अर्यालले सरकारलाई आग्रह गर्दै भने, “एक प्राधिकरण वा समिति गठन गर्नुहोस्, जहाँ हामीलाई पनि समावेश गर्न सकिन्छ। हामीले ९० दिनभित्र सहकारीको बचत रकम फिर्ता गर्ने आधार दिनेछौँ। यो प्रक्रिया एकैचोटी सकिँदैन, तर सुरुवात गर्न सकिन्छ।”

अर्यालले विधिको शासनमा विश्वास राख्ने बताउँदै, पार्टी सभापति रवि लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्न माग गरे। अर्यालले भने, “ नेपालको कानून अनुसार प्रमाण नष्ट गर्ने र भागेर नजाने व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्दैन।”

अर्यालले भने,“हामी रवि लामिछाने एउटा व्यक्तिको पछि लागेका छैनौं। यो त एउटा अभियान हो। आफैँमा आन्दोलन हो। यो जनताको आशा हो।”