आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरको तास आयात
चाडपर्वको बेलामा अत्यधिक माग हुने तास विभिन्न मुलुकबाट आयात गरिने भन्सार विभागको तथ्याङ्कले देखाउँछ। रमाइलो तथा जुवाको रुपमा पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौँ रुपैयाँ बाहिरिने गरेको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरको तास आयात भएको छ। विभागका अनुसार २० लाख ७ हजार ८९२ थान तास आयात भएको हो तास आयात गरे बापत ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व उठेको छ।
नेपालमा दसैंतिहारलगायत चाडपर्वमा तास खेल्ने गरिन्छ। सोही अवधिलाई लक्षित गरी तास आयात हुने गरेको छ। गत आर्थिक वर्षको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको थियो। जसबाट ४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजस्व उठेको थियो। नेपालमा चीन, भारत, अमेरिका, बेलायत लगायत मुलुकबाट तास आयात हुने गरेको छ।
चालु आर्थिक वर्षको साउन र भदौमा सबैभन्दा बढी चीनबाट ५ करोड २१ लख ३ हजार रुपैयाँको तास आयात भएको विभागको तथ्याङ्क छ। उस्तै भारतबाट ९० लाख ५७ हजार रुपैयाँ बराबरको तास आयात भएको छ।विभागका अनुसार आर्थिक वर्ष ०८०/०८१ म ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो।
सबैभन्दा बढी चीनबाट २८ करोड २३ लाख ४६ हजार रुपैयाँ र भारतबाट २ करोड ६८ लाख ७१ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो। अमेरिकाबाट ९५ लाख २२ हजार र स्पेनबाट २८ लाख ५९ हजार रुपैयाँ बराबरको तास आयात भएको विभागको तथ्याङ्क छ।
आर्थिक वर्ष ०७९/०८० मा २१ करोड २७ लाख ९४ हजार रुपैयाँको तास आयात भएको थियो। सबैभन्दा बढी चीनबाट १८ करोड ७६ लाख, भारतबाट २ करोड १५ लाख ९५ हजार र ब्राजिलबाट ३५ लाख ७९ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ। आर्थिक वर्ष ७८/७९ मा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास आयात भएको थियो।
आर्थिक वर्ष ०७७/०७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास आयात भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ मा २३ करोड ५४ लाख ५३ हजार रुपैयाँको तास आयात भएको थियो।
प्रतिक्रिया