वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
राजावादीहरूमा किन मच्चियो कलह ?
राजावादीहरुको पार्टी राप्रपामा कलह चरम उत्सर्गमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणालाई संगठन विभागको प्रमुखबाट हटाइदिएपछि पार्टीका विवाद बल्झिएको हो। पार्टीमा समानान्तर गतिविधि चलाएको लिङ्देनले बिहिबार महामन्त्री धवल शमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएका थिए। र, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई यो जिम्मेवारी दिएका थिए। अध्यक्ष लिङ्देनको यो निर्णयमा पार्टीको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले असहमति जनाएपछि विवाद सतहमा आएको छ।
https://barnanmedia.com/news/detail/198024/
विपद्मा हराएका गृहमन्त्री अहिले भ्रमण, भाषण र उपदेशमा मस्त
गृहमन्त्री रमेश लेखक अहिले विभिन्न ठाउँका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै छन् । आइतबार ललितपुर जिल्लाका बाढीपहिरो प्रभावित गोदावरी, देवीचौर, टीकाभैरव लगायत विभिन्न क्षेत्रको निरीक्षण गरे । सोमबार उनले काभ्रेका विभिन्न स्थानमा गए । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिए । क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको गफ पनि उनले दिए ।
https://barnanmedia.com/news/detail/198055/
जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !
सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ । कृष्णभिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको छैन । त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डको वास्तविक अवस्था यही हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाही भन्नुहुन्छ, “जो कोही पनि सहजै यात्रा गर्न सक्नुहुन्छ । कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन हामी चौबिसै घण्टा तपाईको साथमा छौँ ।”
विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले हालैको विपत्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताउनुभएको छ । आज ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुँदै उहाँले विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्छ । यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? कसैले नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो”, उहाँले भन्नुभयो,“सोही भावनाका साथ सरकार अत्यन्तै संवेदनशील भएर पुनःनिर्माणमा लाग्छ । प्रभावित नागरिकलाई अभिभावकत्व प्रदान गर्छ ।”
सामान्य बन्दै हवाई उडान
बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप विस्तारै सामान्य बन्दै गएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि विकल्पका रुपमा रहेको हवाई उडानमा अत्यधिक चाप भएको थियो । पछिल्ला दिनमा विभिन्न नाका भएर काठमाडौँ भित्रिने र बाहिरिने सडक सञ्जाल पुनःसञ्चालनमा आउनथालेपछि हवाई उडान पनि सामान्य बन्दै गएको हो ।
मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हवाई उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । बाढी, पहिरोलगायत विपत्तिका घटनाले सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप भएको थियो ।
विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गर्नुभएको हो । “हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुरानापुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी रूपमा हुनुपर्छ । त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ । कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुनेनहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौँ ।”
यात्रु छतमा बोक्नेलाई बीच बाटोमै रोकेर २० हजारसम्म जरिवाना
जोखिमपूर्ण तरिकाले निर्वाध रूपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ। यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको बताइएको छ। खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर २० रूपैयाँ हजारसम्म जरिवाना गराइएको छ। पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला (सिडिओ) अधिकारी सुमन घिमिरेले बताए।
तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ
तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्करभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा तीन क्विन्टल ९२ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्याङकर चालक मकवानपुरको मनहरि गाउँपालिका–९ ज्यामिरे निवासी २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
हरियाणा चुनाव परिणामः उचाना कलान सिटमा दुष्यन्त चौटाला पाँचौँ स्थानमा
जननायक जनता पार्टी (जेजेपी) का दुष्यन्त चौटाला हरियाणाको उचाना कलानबाट हारेका छन्। र्वाचन आयोगको वेबसाइटका अनुसार उनले 7950 मत प्राप्त गरेका छन्। भारत पाँचौँ स्थानमा छ। उचाना कलान सिटमा भाजपाका देवेन्द्र अत्रीले 48 हजार 968 मत प्राप्त गर्दै 32 मतको अन्तरले जित हासिल गरेका छन्। काङ्ग्रेसका बृजेन्द्र सिंह 48,936 मतसहित दोस्रो स्थानमा रहे। निर्वाचन आयोगको वेबसाइटका अनुसार हरियाणा विधानसभा चुनावको नतिजामा अहिले भाजपाले अग्रता लिएको छ।
भाजपाले 39 सिट जितेको छ र 9 सिटमा अगाडि छ। काङ्ग्रेसले 31 वटा सिट जितेको छ र 6 वटा सिटमा अगाडि छ। राज्यमा कुल 90 वटा विधानसभा सिट छन् र कुनै पनि पार्टीलाई सरकार बनाउन 46 वटा सिट चाहिन्छ।
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण , मन्त्रीले गरे शुभारम्भ
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्। सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रशाद लामिछानेले बताए। 'मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौं। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ,' उनले भने।
गायक राजु लामाको स्वर रहेको गीत ‘तिम्रा पाइलाहरू’ भिडियो सार्वजनिक
गायक राजु लामा र गायिका त्रिसला गुरुङको युगल स्वर रहेको गीत ‘तिम्रा पाइलाहरू’ सार्वजनिक भएको छ । गीतमा लेखूँ सहयात्रीको शब्द तथा सङ्गीत छ । गीतको भिडियो पनि बनेको छ । जसमा ध्रुव जिसी र नीति शाहको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडियोमा ध्रुव र नीतिको केमेस्ट्री सुहाएको छ ।
राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेइ नोभिकोभले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत नोभिकोभले शिष्टाचार भेट गर्नुभएको हो । भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायत विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष दाहालले नेपाल–रुसबीच विगतदेखि नै सरकार र जनस्तरसम्म सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै दुई देशबीचको सहकार्यले आगामी दिनमा यस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको स्वास्थ्य परीक्षण बानेश्वरस्थित अल्फा केयरमा हुने भएको छ । दसैँतिहार सुभकामना आदानप्रदान कार्यक्रममा अल्फा बिटाले विद्यार्थीको सहजताका लागि स्वास्थ्य परीक्षण सुरु गरेको जानकारी दियो । शुभकामना आदानप्रदान कार्यक्रममा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अष्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम, नयाँ दिल्लीस्थित क्यानडा उच्च आयोगकी वाणिज्यमन्त्री जेनिफर डाउबेनी, अष्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवको सहभागिता रहेको थियो ।
गणतन्त्र कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनः निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो। यस सहयोगबाट विपद्पछिको पुनः निर्माण तथा पुनः स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ। यसैबिच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको जनाइएको छ।
इरानद्वारा आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई चेतावनी
गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशङ्काबीच इरानले इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ। “इरानमा कुनै पनि पूर्वाधारमाथि आक्रमण भए यसले अझ बलियो प्रतिक्रिया निम्त्याउनेछ”, सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै भनेको छ। इजरायलले आफ्नो प्रमुख शत्रुमाथि अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको बताएपछि अराघचीले त्यस्तो चेतावनी दिनुभएको हो । इरानले पछिल्लो छ महिनामा इजरायलमाथि गरेको यो दोस्रो आक्रमण थियो ।
नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी
नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ। पुरुषको ४ खेलको श्रृंखलामा भारत ४–० ले विजयी भयो। नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो। दुवैमा भारतले बाजी मार्यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, भारतीय खो खो महासंघका महासचिव एमएस त्यागी, आयोजक खो खो संघका अध्यक्ष प्रदीप महर्जन, खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
प्रतिक्रिया