सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

सिधा कुरा डटकमका प्रकाशक युवराज कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

सर्वोच्च अदालतको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जनाएका छन् ।‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ ।’

तर उनले जेलबाट छुटेसँगै फेरि सञ्चाकर्ममै रहने र विचलित नहुने बताएका छन् । ‘प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ । समाचारको धर्मबाट कहिल्यै विचलित हुने छैनौँ’, ढुंगानाको भनाइ छ ।

ढुंगाना ‘सिधाकुरा’ अनलाइनका कार्यकारी सम्पादक र कँडेल प्रकाशक तथा प्रस्तोता हुन् । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको थियो । यसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई  जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ ।

उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।