रूपन्देहीमा हराइरहेको दूध बोक्ने गाडी फेला, चालक र सहचालक बेपत्ता

रूपन्देहीमा शनिबारदेखि हराइरहेको दूध बोक्ने गाडी फेला परेको छ।

शनिबार बिहानै मर्चवारदेखि दूध सङ्कलन गर्दै अन्यत्र सङ्कलनका लागि हिँडेको भे १ च २६७६ नम्बरको जीप आइतबार साँझ ६ बजे सिद्धार्थनगर नगरपालिका–१० र मायादेवी गाउँपालिका–२ मा पर्ने घाँघरा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताइन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले निरन्तर खोजतलास गरेको गाडीमा रहेका दूध सहितका भाँडा देखेपछि खोज्दै जाँदा गाडी फेला परेको उनले जनाइन्। जीपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोध भने अझै बेपत्ता छन्।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दूध सङ्कलन केन्द्रबाट सो गाडी दूध लिएर शनिबार बिहान भैरहवातर्फ आउँदै थियो।

सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाघरा खोलाबाट जीप हराएको थियो।