युरोपको प्रयोगशाला सिइआरएनले रुससँग सम्बन्ध तोड्दा करिब ५०० वैज्ञानिक प्रभावित हुने

युरोपको भौतिकशास्त्र प्रयोगशाला सिइआरएनले आइतबार नोभेम्बरको अन्त्यमा योजनाअनुसार रुससँगको सहकार्य तोड्दा रुसी संस्थानहरूसँग सम्बद्ध करिब पाँच सय वैज्ञानिक प्रभावित हुने बताएको छ । 

सिइआरएनको निर्णय लिने संस्थाले युक्रेनमा युद्धका कारण सन् २०२२ जुनमा रुस र उसको सहयोगी बेलारुससँगको सहकार्य सम्झौताहरू अन्त्य गर्ने निर्णय गरेको थियो । 

सिइआरएनका अनुसार यसरी बेलारुसको पाँच वर्षको सम्झौता गत जुन २७ मा समाप्त हुँदा नवीकरण गरिएको थिएन र रुससँगको सम्झौता नोभेम्बर ३० मा समाप्त भएपछि यसलाई अगाडि बढाइने छैन । कथित रूपमा यसले पहिले नै करिब १५ बेलारुसी वैज्ञानिकलाई सिइआरएनसँगको सहकार्यबाट रोकेको छ र चाँडै सयौँ रुसी वैज्ञानिकले पनि यस्तै परिस्थितिको सामना गर्नेछन् ।

“यो रुसी संस्थानहरूसँग सम्बन्धित आज पाँच सयभन्दा कम वैज्ञानिकमा लागु हुनेछ, तिनीहरूले यस्तो सहयकार्य रोक्नुपर्नेछ”, सिइआरएनका प्रवक्ता आर्नोड मार्सोलियरले भन्नुभयो । ती वैज्ञानिकहरू अहिलेसम्म विश्वभरका करिब १७ हजार शोधकर्ताहरूको समुदायमा समावेश थिए । तीमध्ये अधिकांश आफ्नै होस्ट संस्थान वा प्रयोगशालबाट काम गर्दै सिइआरएन सम्बद्ध प्रयोगहरू र तथ्याङ्क विश्लेषण कार्यहरूमा सहभागी हुन्थे । 

सिइआरएनको निर्णय लिने परिषद्ले गत डिसेम्बरमा रुससँगको सहयकार्य तोड्ने निर्णयलाई अन्तिम रूप दिँदा उसले जोड दिँदै ‘अन्य संस्थानहरूसँग सम्बद्ध रुसी राष्ट्रियताका वैज्ञानिकहरूसँगको सम्बन्धलाई प्रभावित नगर्ने’ बताएको थियो । 

करिब ९० रुसी अन्य प्रयोगशालामा सरेको अनुमान गर्दै मार्सोलियरले उनीहरूले आफ्नो सहयकार्य जारी राख्न सक्ने बताउनुभयो । उक्त निर्णयले मस्कोबाट एक सय १० किलोमिटर उत्तरमा रहेको डुबनास्थित ज्वाइन्ट इन्स्टिच्युट फर न्युक्लियर रिसर्च (जेआइएनआर) का कर्मचारीहरूलाई प्रभावित गर्नेछैन । 

रुसको बहिष्कारको अर्थ सिइआरएनले महत्त्वपूर्ण वित्तीय योगदान गुमाउनेछ । रुसले प्रयोगशालाको विशाल कण उत्प्रेरक लार्ज हाड्रोन कोलाइडरमा सञ्चालित प्रयोगहरूको वार्षिक सञ्चालन लागतको करिब चार दशमलव पाँच प्रतिशत अर्थात २७ लाख डलर योगदान दिँदै आएको थियो । साथै यसले एलएचसीको नाटकीय उन्नयनका लागि चार करोड फ्राङ्क योगदान गर्ने प्रतिज्ञा गरेको थियो । यो सन् २०२९ मा सञ्चालनमा आउनेछ र पत्ता लगाउन सकिने घटनाहरूको सङ्ख्या १० गुणा बढाउनेछ ।

अन्य सदस्य मुलुकहरूले रुसको बजेट योगदान पूरा गर्ने भन्दै मार्सोलियरले सिइआरएनले एलएचसी उन्नयनमा खाडल पूरा गर्ने बताउनुभयो । “यसका कारण कुनै ढिलाइ हुने अपेक्षा गरिएको छैन”, उहाँले भन्नुभयो ।