श्रीलंकन पूर्व राष्ट्रपति गोटाबाय राजपाक्षे नेपाल भ्रमण सकेर भारत लागे

चर्को जनान्दोलनको रापतापवीच सत्ता छाडेर भागेका श्रीलंकन पूर्व राष्ट्रपति गोटाबाय राजपाक्षे नेपाल भ्रमण सकेर भारततर्फ लागेका छन् । उनी आज बेलुकी ५ बजे भिस्तारा एअरको उडानमा नयाँ दिल्ली गएका हुन् ।

श्रीमतीसहित आएका उनी बिहान साढे १० बजे भैरहवाबाट बुद्ध एअरको उडानमा काठमाडौं आइपुगेका थिए । उनीहरुसँगै श्रीलंकन राजदूत सुदर्शना कारागोदा पथिरना पनि फर्केको बताइन्छ ।

राजधानी कोलम्बोमा नवनिर्वाचित वामपन्थी राष्ट्रपतिले शपथ लिएलगत्तै राजपाक्षे गत सोमबार काठमाडौं आएका थिए । भुटान घुमेर आएका उनको स्वागतमा त्यहीँ बैंक र होटल व्यवसायमार्फत् व्यापारिक साम्राज्य फैलाएका नेपाली व्यापारी विनोद चौधरी अहोरात्र खटिएको देखिन्थ्यो ।

उनीहरु विमानस्थलबाट सोझै ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ता गएर बसेका थिए । विनोद चौधरीको उक्त होटलमा बसेका उनीहरुको बास भरतपुर गएर पनि चौधरीकै होटलमा भएको बताइन्छ । तीन दिन चितवन बसेर उनीहरु पोखरा र लुम्बिनी पुगेका थिए ।

राजपाक्षे दुई वर्षअघि मुलुक छाडेर सैनिक विमानमा छिमेकी माल्दिभ्स हुँदै सिंगापुर,थाइल्याण्ड गएका थिए । चरम आर्थिक संकट उत्पन्न भएकाले जनअसन्तोष उर्लेपछि ७५ वर्षे राजपाक्षे श्रीमतीसहित दुईजना सुरक्षा अधिकारी लिएर माल्दिभ्स पुगेका थिए । विदेशबाटै प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गराए । अहिले उनै राजपाक्षे नेपाल आउनु, चौधरीको होटलमा बस्नु र उनैले आतिथ्य प्रदान गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

चौधरीले श्रीलंकामा पछिल्लो समय केही होटल र बैंकमा लगानी गरेका छन् । राजपक्षेको कार्यकालमा चौधरीमाथि गैरकानुनी ढंगले कैयन व्यवसायमा लगानी गरेको,नाजायज फाइदा उठाएको आरोप श्रीलंकाली व्यवसायीहरुले लगाउँदै आएका छन् । असोज १ गते राति सिंगापुर गएका चौधरी राजपाक्षेको स्वागतकै लागि भनेर असोज ६ गते काठमाडौं फर्केका थिए ।