वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

बाढीपहिरोले ब्यापक क्षतिः राज्य मूकदर्शक, उद्धारसमेत गर्न सकेन

बाढीपहिरोले देशभर व्यापक क्षति गरेको छ। राजधानी काठमाडौंसहित बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति भएको छ। प्रहरीका अनुसार २४ घन्टामै एक सय  जनाको ज्यान गएको छ। ७२ बेपत्ता भएका छन्। राजधानी उपत्यकासँग जोडिएका सबै राजमार्ग बन्द भएका छन्। सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नु परेको छ।  आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ। 

https://barnanmedia.com/news/detail/196389/

बार अध्यक्ष घिमिरेले उठाएका प्रश्नको छानबिन गर्ने हिम्मत कसले गर्ने ? 

कुनै समय नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष विश्वकान्त मैनालीले भनेका थिए- न्यायाधीशको पद भ्रष्टाचारको लाइसेन्सजस्तो भयो । उनको भनाइको तात्पर्य थियो कि एकपटक न्यायाधीश भएपछि उसमाथि जस्तासुकै बात लागे पनि छानबिन र कारबाही नहुने, जस्तासुकै नांगा नाच देखाए पनि हुने । मैनालीको यो भनाइ विशेषतः सिधै सर्वोच्च अदालतका न्यायाधीशतर्फ इंगित थियो । सर्वोच्च अदालतका न्यायाधीशमाथि न्याय परिषद्ले कारबाही गर्न सक्दैनथ्यो । संसदले महाभियोग लगाउनुपर्थ्यो । संसदले कारबाही गर्न पनि दुई तिहाइ बहुमत आवश्यक पर्थ्यो । आफ्नो सरकार टिकाउन सामान्य बहुमतकै लागि महाभारत खेपिरहेका दलहरुलाई कसले दुई तिहाइ जुटाइदिने ? त्यसमाथि न्यायाधीशमाथि प्रश्न उठाउने नैतिक तागत दलका नेताहरूले कसरी राखून् ?

https://barnanmedia.com/news/detail/196396/ 

१० वर्ष लगाएर बनेको झोलुंगे पुल उदघाटन गर्न भिभिआइपीको लर्काे, राष्ट्रपति, कावा प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री बने फुर्सदिला 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ को सकरदिनही र सुस्ता भुमी जोडने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ। तीन वर्षमा बन्नुपर्ने पुल निर्माण गर्न १० वर्ष लाग्यो। नारायणी नदीमा १५५८ मिटर लामो पुल निर्माणका लागि ०७० सालमा सम्झौता भएको थियो। साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ। 

https://barnanmedia.com/news/detail/196504/ 

सहकारी प्रकरण : छविलाल जोशीको बयान सकियाे

 सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो ।‘अहिलेका लागि बयान सकिएको छ । यही बयानका आधारमा अदालतमा पेस गर्छौं,’ कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने, ‘आवश्यक पर्‍यो भने फेरि पनि थप बयान लिन सकिन्छ ।’ जोशीलाई सुरुमा ५ दिनको म्याद दिइएको थियो । बयान र अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थपिएकोमा बयान पूरा भएको थापाले बताए । उनलाई असोज ६ गते काठमाडौँबाट पक्राउ गरेर जहाज मार्फत पोखरा ल्याइएको थियो ।

इजरायलद्वारा हलेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ

हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ । अल्जजीराले  ट्याङ्कहरू तैनाथ गरेका तस्बिर सार्वजनिक गरेको छ । इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने यस अघि नै चेतावनी दिएको थियो ।  अर्कोतर्फ नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । न्यूयोर्क टाइम्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले यी आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको बताएको छ । रिपोर्टमा नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ ।

फिल्म ‘एक्टरः टेक वन’ को टिजर युट्युबमा दोस्रो ट्रेन्डिङ

 फिल्म ‘एक्टरः टेक वन’ को टिजर युट्युबमा ट्रेन्डिङमा परेको छ । शुक्रबार मात्रै सार्वजनिक भएको फिल्मको टिजर फिल्मको विधातर्फ दोस्रो स्थानको ट्रेन्डिङमा परेको छ । शुक्रबार सार्वजनिक टिजर युट्युब ट्रेन्डिङमा फिल्म विधातर्फ दोस्रो स्थानमा आएको हो। फिल्मको टिजरलाई आइतबार साँझसम्म आठ लाख सात हजारभन्दा बढी पटक हेरिएको छ । निर्देशक राजन भुसालको निर्देशनमा रहेको फिल्म आगामी कार्तिक १५ गते रिलिज हुनेछ । फिल्मलाई थम्मन कुमार भण्डारी निर्माण गर्ने छन् भने आकाश बराल र राजन भुसालले संयुक्त लेखन रहेको छ ।

छविलाल जोशीको पक्राउ प्रक्रियासंगत भएन : रास्वपा 

 राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वडीआइजी छविलाल जोशीको पक्राउप्रति चिन्ता व्यक्त गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा सहकारी प्रकरणबारे विस्तृत छलफल नभएको नेताहरुले बताएका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनको भन्दा अन्य विषयमा बढी कुरा भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । बैठकपछि प्रतिक्रिया दिने क्रममा नेताहरुले गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीलाई पक्राउ गर्दा सरकारको नियत सफा नभएको बताए ।

पानि राेकियाे, बेपत्ताहरुका शव धमाधम फेला पर्न थाले

काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १६३ पुगेको छ ।  साँझ ६ बजेसम्मको रिपोर्टअनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ७९ जनाको मृत्यु भएको छ । त्यस्तै, बागमती प्रदेशमा ६४,कोशीमा १७ र मधेसमा ३ जनाको ज्यान गएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । जसमध्ये काठमाडौँमा ५२, ललितपुरमा २२,काभ्रेमा ३२, सिन्धुपाल्चोकमा ९ र  मकवानपुरमा ७ जनाको निधन भएको छ । 

सीधाकुराले अदालतको मानहानी गरेको ठहर

सर्वाेच्च अदालतले सिधा कुरा नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरुले अदालतको मानहानी गरेको ठहरसहित सजाय तोकेको छ । सर्वोच्चको पूर्ण इजलासले आइतवार निर्णय सुनाउँदै कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ ।

सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध हटाइयाे

पानीको बहाव उच्च हुँदै गएपछि शनिबार साँझदेखि सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ ।  ब्यारेजका ५६ ओटै ढोका खोलिएको भएपनि पानीको बहाव ६ लाख क्यूसेकभन्दा बढी भएपछि ब्यारेजबाट आवत–जावत  गर्न शनिबार बेलुका ४ बजेदेखि अनिश्चित कालका लागि बन्द गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव कम भएको र ब्यारेजमा थुप्रिएको फोहोर सफा गरिसकेको कारण आइतबार साँझदेखि आवतजावत खुल्ला गरिएको बताए । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

धनगढी उपमहानगरपालिका-७ भानु चोक बस्ने बिष्णु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय राम सिंह चौधरी समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ७ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बिजयनगर बस्ने केशव सिंह गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ६६ वर्षीय केशर सिंह गुरूङ समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध 

पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ।पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ। टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो।यसैबीच, नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ।

कांग्रेसका सांसहरूको १५ दिनको तलब रकम बाढीपहिरोपीडितलाई दिने

नेपाली कांग्रेसका सांसहरूको १५ दिनको तलब रकम बाढीपहिरोपीडितलाई दिने निर्णय गरिएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकबाट यस्तो निर्णय गरिएको हो । आइतबारै बिहान बसेको कार्यसम्पादन समिति बैठकले पार्टी कोषबाट ५० लाख रुपैयाँ पीडितको राहतका निम्ति दिने निर्णय गरेको थियो । संसदीय दलका तर्फबाट गरिएको निर्णयसँगै कांग्रेसले पीडितको राहतका निम्ति थप ३० लाख बढी रकम सहयोग गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्राप्त जानकारीअनुसार असोज ११ गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठजना बेपत्ता भएका छन् । यस्तै चौपायातर्फ ६४ मरेका, एक घाइते र पंक्षीतर्फ एक हजार २०६ मरेका छन् । भौतिक संरचनातर्फ १९ पक्की घरमा पूर्ण, ५८ मा आंशिक क्षति र अन्य घरतर्फ ३९ मा पूर्ण, ३३ आंशिक तथा १३ गोठ, छ सरकारी कार्यालय, चार सवारी साधन, १३ वटा पुल तथा कल्र्भटमा क्षति हुनुका साथै पाँच सय ४२ घरधुरी प्रभावित भएका कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

सुनकोशीकाे बाढीमा परी एक जना कोरियाली नागरिकको मृत्यु

 शुक्रबार र शनिबारको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीमा परी एक जना कोरियाली नागरिकको मृत्यु भएको छ ।पर्यटक प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुकुटेस्थित सिन्धु बिच रिसोर्टमा रहेका ३५ वर्षीय यु उ सान योङ नाम गरेका पुरुषको मृत्यु भएको हो । ती व्यक्तिको शव प्राप्त भए पनि थप पोस्टमार्टमका लागि ल्याउन नसकिएकोले पर्यटक प्रहरीका सहायक निरीक्षक अविश थापाले जानकारी दिए । सो स्थानमा अरू केही विदेशी नागरिकलाई भने उद्धार गरिएको जानकारी प्राप्त भएको बताए ।

नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् ।   बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौँ सवारीसाधन र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । 

सिधाकुरा युट्युब च्यानलविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्चको फैसला केहीबेरमा सार्वजनिक हुँदै 

सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतको फैसला केहीबेरमा सार्वजनिक हुँदै छ। निर्णय  सुनाउने दिन तोकेर पनि तीनपकट सरिसकेको मुद्दामा आज फैसला हुन लागेको हो। फैसला केहीबेरमा सार्वजनिक हुने सर्वोच्च अदालतका अधिकारीले बताए। फैसलालाई अन्तिम रूप दिन न्यायाधीशहरू साँझ अबेरसम्म पनि छलफलमा छन्। सर्वोच्च अदालतका केही कर्मचारी पनि यही फैसलाका लागि कुरेर बसेका छन्।

प्रधानसेनापतिसँग चिनीयाँ राजदूतको भेट

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ  यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको समेत जनाइएको छ ।

झ्याप्लेखोलाकाे पहिरो पन्छाएपछि नागढुंगा–नौबीसे सडक अवरोध हट्यो

नागढुंगा–नौबीसे खण्डमा पर्ने झ्याप्लेखोलामा गएको पहिरो पन्छाइएको छ।  डोजरले पहिरो पन्छाएसँगै काठमाडौंबाट क्रेन लगेर बाटोमा अड्किएका बसहरुलाई हटाएसँगै बाटो खुलेको हो। नागढुंगा नौबीसे सडक आयोजनाका प्रमुख केशवप्रसाद ओझाले सडकको पहिरो सबै फालिएको बताए।  उनले भने, ‘पहिरो पन्छाउने काम सकिएको छ। बीचमा बसहरुले बाटो छेकेका थिए। तिनलाई काठमाडौंबाट क्रेन लगेर सारिएको छ।’

 टाटाको कम्पनीमा आगलागी, लाखौंको क्षति

शनिबार भएको एउटा ठूलो आगलागीले भारतको दक्षिणी भागमा रहेको प्रमुख टाटा इलेक्ट्रोनिक्स प्लान्टमा उत्पादन अवरुद्ध भएको छ। आगलागीमा घाइते भएका कम्तीमा १० जनालाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएकोमा दुई जनालाई अस्पताल भर्ना गरिएको छ। यो प्लान्टले एप्पलको आइफोनका लागि पार्टपुर्जा उत्पादन गर्ने गर्छ। यो घटना एप्पलको आइफोन सप्लाई चेनलाई असर गर्ने पछिल्लो घटना हो, खासगरी जब कम्पनीले चीन बाहिर आफ्नो उत्पादन विविधिकरण गर्ने प्रयास गर्दै भारतलाई प्रमुख वृद्धि बजारको रूपमा हेरिरहेको छ।