हिजबुल्लाहका अर्का शीर्ष अधिकारी मारिए : इजरायल

लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अरू विनाशकारी आघातबाट लडखडाइरहेका बेला हवाई आक्रमणमा अर्का एक शीर्ष अधिकारीलाई मारिएको इजरायली सेनाले आइतबार जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको जनाएको छ ।

हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी गरिएको छैन । साथै, आक्रमण कहाँ गरिएको थियो भन्नेबारे पनि जानकारी भएको छैन ।

काउक सन् १९८० को दशकदेखि नै हिजबुल्लाहका अनुभवी सदस्य थिए । उनले सन् २००६ मा इजरायलसँगको युद्धमा दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य कमान्डरका रूपमा सेवा गरेका थिए । उनी प्रायः स्थानीय सञ्चारमाध्यममा देखा पर्थे र राजनीति तथा सुरक्षा विकासमा टिप्पणी गर्थे । साथै, वरिष्ठ लडाकुको अन्त्येष्टिमा श्रद्धाञ्जली दिन्थे । अमेरिकाले सन् २०२० मा उनीविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो ।

हालैका सातामा इजरायली आक्रमणमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यलगायत धेरै वरिष्ठ कमान्डर मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि छन् ।हिजबुल्लाहलाई उसका पेजर र वाकीटकीहरूमा गरिएको परिष्कृत आक्रमणको निसाना बनाइएको थियो । उक्त आक्रमणका निम्ति व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, लेबनानका ठूला क्षेत्रमा गरिएको इजरायली हवाई आक्रमणबाट दुई साताभन्दा कम समयमा १५६ महिला र ८७ बालबालिकासहित एक हजार ३० जनाको ज्यान गएको छ ।

पछिल्ला आक्रमणका कारण लेबनानमा लाखौँ मानिस आफ्नो घरबाट भाग्न बाध्य भएका छन् । वातावरणमन्त्री नासिर यासिनले करिब दुई लाख ५० हजार मानिस आश्रयस्थलमा रहेका सरकारले अनुमान गरेको बताए । त्यसको तीनदेखि चार गुणा मानिस साथी वा आफन्तकहाँ बसिरहेका छन् वा सडकमा शिविर बनाएर बसेका छन् ।

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट र मिसाइलहरू प्रहार गरेको छ । तर, अधिकांशलाई रोकिएको छ वा खुला क्षेत्रमा खसेका छन् । यसबाट उत्तरी इजरायलमा केही हताहत र सामान्य क्षति भएको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणले गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट, मिसाइल र ड्रोनहरू प्रहार गर्न थालेको थियो । हिजबुल्लाह र हमास दुवै इजरायलविरुद्ध इरान समर्थित ‘प्रतिरोधको धुरी’का हिस्सा मान्ने सहयोगी हुन् ।

इजरायलले हवाई आक्रमणमार्फत जवाफ दिएको छ । र, क्षेत्रव्यापी द्वन्द्वको आशंका बढेको छ ।हिजबुल्लाहले गाजामा युद्धविराम भएको अवस्थामा मात्र आफ्नो रकेट प्रहार रोक्ने जनाएको छ ।अमेरिका, कतार र इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच महिनौँको अप्रत्यक्ष वार्ताका बाबजुद अझै पनि युद्धविराम सम्भव भएको छैन ।