पानि राेकियाे, बेपत्ताहरुका शव धमाधम फेला पर्न थाले

काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १६३ पुगेको छ । 

साँझ ६ बजेसम्मको रिपोर्टअनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ७९ जनाको मृत्यु भएको छ । त्यस्तै, बागमती प्रदेशमा ६४,कोशीमा १७ र मधेसमा ३ जनाको ज्यान गएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । जसमध्ये काठमाडौँमा ५२, ललितपुरमा २२,काभ्रेमा ३२, सिन्धुपाल्चोकमा ९ र  मकवानपुरमा ७ जनाको निधन भएको छ । 

प्राप्त रिपोर्टमा हालसम्म ६० जना घाइते र ७५ जना अझै बेपत्ता रहेको जनाइएको छ । घाइतेमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४३, काठमाडौँ उपत्यकामा १० र कोशीमा ७ जना छन् । उनीहरुको बिभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले आज ललितपुरमा मात्रै १० जनाको शव फेला पारेको छ । हिजोको बाढीपहिरो र डुबानमा परी बेपत्ता भएका महालक्ष्मी नगरपालिका- ८ संखादेवीका ५६ वर्षीय लीला थापा,बागमती गाउँपालिका-५ भालु खोलाकी ६४ वर्षीय माइली श्रेष्ठ र झापा स्थायी ठेगाना भई ललितपुर महानगरपालिका-३ मनमोहन पार्कस्थित वैभब पावर नेपाल प्रालिको स्टोरमा काम गर्ने वर्ष २८ का सुवास पाण्डे बेपत्ता रहेकोमा शव भेटिएको हो । 

त्यसैगरी, महालक्ष्मी नगरपालिका-९ लुभु खोला छेउको पहिरोमा बेपत्ता तीनजना पनि मृत फेला परेका छन् । उनीहरु सुर्खेत घर भई हाल लुभु बस्ने २४ वर्षीय हरिकला थापा मगर, उनको साढे २ वर्षकी छोरी सिमृका थापा मगर र ससुरा ५० वर्षे शिव थापा मगर रहेको बताइएको छ । 

गोदावरी नगरपालिका-७ छोटेडाडा देवीचौरमा पुरिएको अवस्थामा एकै परिवारका चार जनाको शव निकालिएको छ । हिजोदेखि बेपत्ता वर्ष ४५ को जयमान न्यासुर तामाङ, ४० वर्षे कान्छी कान्छिमाया तामाङ, २० वर्षीय बाल्स्या तामाङ र नाम नखुलेको २ महिने बालिका रहेको जनाइएको छ ।     

ललितपुरको बिभिन्न स्थानबाट अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्राप्त रिपोर्टअनुसार हिजोदेखि हराएका रौतहट घर भई अहिले ललितपुर महानगरपालिका-१४ नखिपोटस्थित कान्तिपुर क्लोनी बस्ने पाँच वर्षीय सेतु साह र ३२ वर्षको बिकाउ साह अझै फेला परेका छैनन् ।

त्यस्तै, माहाङकाल गाउँपालिका-३ गोटीखेलका इश्वर तिमिल्सिना र उनको परिवारका दुई जना पनि अझै बेपत्ता छन् । ओखलढुङगा घर भई ललितपुर बस्ने ४० वर्षे देवराज कार्की र  ललितपुरको गोदावरी नगरपालिका-६ आनन्दवन अस्पतालमा कार्यरत ३० वर्षे विवेक सिंह पनि बाढीमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।