सुनकोशीकाे बाढीमा परी एक जना कोरियाली नागरिकको मृत्यु

 शुक्रबार र शनिबारको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीमा परी एक जना कोरियाली नागरिकको मृत्यु भएको छ ।

पर्यटक प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुकुटेस्थित सिन्धु बिच रिसोर्टमा रहेका ३५ वर्षीय यु उ सान योङ नाम गरेका पुरुषको मृत्यु भएको हो ।

ती व्यक्तिको शव प्राप्त भए पनि थप पोस्टमार्टमका लागि ल्याउन नसकिएकोले पर्यटक प्रहरीका सहायक निरीक्षक अविश थापाले जानकारी दिए । सो स्थानमा अरू केही विदेशी नागरिकलाई भने उद्धार गरिएको जानकारी प्राप्त भएको बताए ।

त्यसबाहेक सोलुखुम्बुको लुक्ला, गोरखाको मनासलु लगायत ठाउँमा केही पर्यटकहरू फसेको सूचना आए पनि त्यसको यकिन तथ्याङ्क आई नसकेको उनले जानकारी दिए ।