सिधाकुरा युट्युब च्यानलविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्चको फैसला केहीबेरमा सार्वजनिक हुँदै

सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतको फैसला केहीबेरमा सार्वजनिक हुँदै छ।

निर्णय  सुनाउने दिन तोकेर पनि तीनपकट सरिसकेको मुद्दामा आज फैसला हुन लागेको हो। फैसला केहीबेरमा सार्वजनिक हुने सर्वोच्च अदालतका अधिकारीले बताए।

फैसलालाई अन्तिम रूप दिन न्यायाधीशहरू साँझ अबेरसम्म पनि छलफलमा छन्। सर्वोच्च अदालतका केही कर्मचारी पनि यही फैसलाका लागि कुरेर बसेका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते नै सुनुवाइ सकिएको थियो।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रकाशन/प्रसारण गरेको थियो। सिधाकुराले प्रसारण गरेको विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।

सोही मुद्दाको छिनोफानो गर्न गत जेठ ३० गते न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले दिएको आदेशबमोजिम बृहत् आकारको ९ सदस्यीय इजलास गठन गरिएको थियो। 

यसअघि ७ न्यायाधीश रहेको इजलासबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्यायिक स्वतन्त्रताका विषयमा प्रतिपादित सिद्धान्त पुनरवलोकन गर्नुपर्ने भएको भन्दै सर्वोच्चले ९ नयायाधीश रहेको इजलास गठन गरेको हो।