टाटाको कम्पनीमा आगलागी, लाखौंको क्षति

शनिबार भएको एउटा ठूलो आगलागीले भारतको दक्षिणी भागमा रहेको प्रमुख टाटा इलेक्ट्रोनिक्स प्लान्टमा उत्पादन अवरुद्ध भएको छ। आगलागीमा घाइते भएका कम्तीमा १० जनालाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएकोमा दुई जनालाई अस्पताल भर्ना गरिएको छ। यो प्लान्टले एप्पलको आइफोनका लागि पार्टपुर्जा उत्पादन गर्ने गर्छ।

यो घटना एप्पलको आइफोन सप्लाई चेनलाई असर गर्ने पछिल्लो घटना हो, खासगरी जब कम्पनीले चीन बाहिर आफ्नो उत्पादन विविधिकरण गर्ने प्रयास गर्दै भारतलाई प्रमुख वृद्धि बजारको रूपमा हेरिरहेको छ।

पछिल्लो केही वर्षदेखि भारतमा एप्पलका आपूर्तिकर्ताहरूसँग सम्बन्धित यस्ता घटनाहरू बारम्बार हुँदै आएका छन्। आगलागी तमिलनाडु राज्यको होसुर सहरमा रहेको उक्त प्लान्टमा भएको हो, जहाँ केही आइफोनका पार्ट्स उत्पादन गरिन्छ।

आगो टाटा कम्प्लेक्सको अर्को भवन नजिकै लागेको थियो, जहाँ आगामी केही महिनामा पूरा आइफोनहरू उत्पादन गरिने योजना छ।

‘आगो एक भवनमा मात्र सीमित गरिएको थियो र पूर्ण रूपमा निभाइएको छ’, शीर्ष जिल्ला प्रशासनिक अधिकारी के.एम. सरयुले जानकारी दिइन्। ‘उत्पादन कहिले पुनः सुरु गर्ने भन्ने निर्णय भने अझै गरिएको छैन’, उनले भनिन्।

“यो रासायनिक जोखिम भएकाले अहिले पनि धुवाँ आइरहेको छ। खोज र उद्धार टोलीलाई भित्र गएर मूल्याङ्कन गर्न समय लाग्नेछ। हामी भोलिसम्म कुर्नुपर्नेछ,” सरयुले थपिन्।

सरयुका अनुसार बिहानको सुरुवातमा आगो लागेको बेला ५२३ जना कामदारहरू सिफ्टमा थिए र सबै कामदारहरूलाई बाहिर निकालिएको थियो र उनीहरूको अवस्था सुरक्षित रहेको पुष्टि गरिएको छ।

प्लान्ट नजिकै बस्छिन्घ टनाको प्रत्यक्षदर्शी सावित्रीले भनिन्, “बिहान ५.३० बजे (जीएमटी मध्यरात) पटाका पड्किएजस्तो ठूलो आवाज सुनेँ। त्यसपछि हामीले भवनबाट धुवाँको मुस्लो देख्यौं, र बिहान १० बजेसम्म बाक्लो धुवाँ देखिन्थ्यो।”