विमान कम्पनीहरूले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने

 विमान कम्पनीहरूले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने भएका छन् ।

वायुसेवा सञ्चाक संघ, नेपालले आइतबार एक विज्ञप्तिमार्फत विपद्को घडीमा सरकारले तोकेबमोजिमको अपर लिमिट (उच्च भाडादर)मा टिकट नबेच्ने निर्णय गरेको हो ।

संघले असोज १४ गतेदेखि १६ गतेसम्म अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको छ । संघले यस विषम परिस्थितिमा परल मूल्यमा हवाई इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

यसरी हवाई इन्धनको मूल्य घटाएमा हवाई यात्रामा लाग्दै आएको फ्यूल खर्च स्वतः घट्ने र यसको प्रत्यक्ष फाइदा यात्रुहरूले पाउने संघको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरूलाई लगाउँदै आएको ल्यान्डिङ, पार्किङ, नेभिगेसन, पेसेन्जर सर्भिस चार्जलगायत अन्य दस्तुरहरूमा छुट दिनुपर्ने संघको माग छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भाडादर घटाउन नौ बुँदे निर्देशन दिएका थिए ।