नेपाल टेलिकमले बाढी पहिरोले अवरुद्ध सेवा सञ्चालनमा ल्याउँदै

विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध हुन गएको कम्पनीले जनाएको छ।

विद्युत आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भए पनि सेवा पुनर्सञ्चालनमा ल्याउने प्रयास जारी रहेको कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीका अनुसार प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेका छन्। धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भइसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी छ।

अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ।