नागढुङ्गा सुरुङ मार्गबाट २२ सय यात्रु काठमाडौं भित्रिए

 काठमाडौं भित्रिने सडक झ्याप्लेखोलाको पहिरोका कारण रोकिएपछि सुरुङ मार्गबाट यात्रुलाई काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई हिजो शनिबार दिनभर र आज पनि सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई हिजो दिनभरमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं पठाइएको हो ।

‘हामीले यताबाट गाडी प्रवेश गर्न दिएका छैनौँ, उनले भने, काठमाडौँतर्फबाट प्रहरीले समन्वय गरेर आएका गाडीमा अलपत्र यात्रुलाई हिजो दिनभर र आज पनि पठाएको हो ।’

उनका अनुसार आज चाहिँ बिहानदेखि नै अत्यावश्यक ढुवानीका सवारीसाधनलाई खानीखोला तर्फबाट सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको छ । तर, यात्रुवाहक सवारी भने पठाइएको छैन । लगातारको झरीमा पनि सुरुङमार्ग भने राम्रो रहेकोले अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई काठमाडौं पठाउन सकिएको उनले जानकारी दिए ।

उक्त क्षेत्रमा धादिङ प्रहरी प्रमुखकै कमाण्डमा टोली खटिएको उनले जानकारी दिए । खोँच क्षेत्र भएको कारण झ्याप्ले खोला, सुरुङ मार्ग आसपास यात्रुको उद्दार तथा बाटो सफाइमा खटिएका प्रहरीहरु कसैको पनि मोबाइल सम्पर्क हुन सकेको छैन ।

आजको पहिरो र गाडीहरू काठमाडौँ प्रवेश गराउन गरिएका कामको नेटवर्क समस्याका कारण यकिन तथ्याङ्क साँझ टोली फर्किएपछि मात्रै दिन सकिने उनले जानकारी दिए ।