लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ, १३ असोजः लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय नौ जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढी तथा पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको हो ।
    
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीनवटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आमसर्वसाधारण नागरिकमा आह्वान गर्नुभएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत समुदायका नागरिकबीचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकालाई राहत, पुनःस्थापनाको काम पनि अघि बढाएका छन् । 

बाढी, पहिरोबाट प्रभावितलाई सुरक्षित स्थानमा सारिएको र पुनःस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीय सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।