१० वर्ष लगाएर बनेको झोलुंगे पुल उदघाटन गर्न भिभिआइपीको लर्काे, राष्ट्रपति, कावा प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री बने फुर्सदिला

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ को सकरदिनही र सुस्ता भुमी जोडने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ।

तीन वर्षमा बन्नुपर्ने पुल निर्माण गर्न १० वर्ष लाग्यो। नारायणी नदीमा १५५८ मिटर लामो पुल निर्माणका लागि ०७० सालमा सम्झौता भएको थियो। साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ। 

तर, पुल निर्माणको उदघाटन गर्न भने राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको लर्काे थियो। एउटा पुल निर्माणको जस लिन पनि तछाडमछाड रह्यो। कांग्रेस सांसद विनोद चौधरीदेखि ०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद देवकरण कलवारले जस लिन भ्याए।

राष्ट्रपति पौडेलले सुस्ता क्षेत्रमा हालै छोडिएको एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति समेत सुुरु गरेका थिए। सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको थियो। कार्यक्रम कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा भएको हो ।राष्ट्रपति पौडेलले पुल निर्माण पछि अब सुस्तताबासीलाई जोखिम पुर्ण डुङ्गा यात्राको अन्त्य भएको धारणा व्यक्त गरे। सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोबास छ ।

उर्जामन्त्री दीपक खड्काले त सुस्ता क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरे। विद्युत प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी  एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ गरिएको थियो। सोही कार्यक्रममा उर्जामन्त्री खड्काले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भएर पनि लामो समयदेखि भरपर्दो र विश्वसनीय विद्युत सेवा उपयोगबाट वञ्चित रहेको सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार कार्य सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने बताए। 

सहरीविकास मन्त्री प्रकाशमान सिंहले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि  डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट पुल बनेसँगै उक्त समस्याको समाधान भएको बताए।

यो पुलको दायाँ किनारमा सकरदिनही र वायाँ किनारमा सुस्ता पर्दछ। झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोडेको हो। सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ। यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए। बर्षायाममा उच्च वहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो।