बाढीपहिरोले विद्युत्का खम्बामा क्षति, मर्मतसम्भार सुरु

 काठमाडौँ, १३ असोजः   तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको छ । 

पानी पर्न रोकिएसँगै क्षति भएका पोलको मर्मतसम्भार गरी सेवा नियमित सञ्चालनको प्रयास थालिएको तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताउनुभयो । “हालसम्म २० वटा विद्युत्का खम्बामा क्षति पुगेको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “अहिले पनि ठाउँठाउँबाट खम्बा ढलेको जानकारी आइरहेको छ ।”

भानु–४ सेपाबगैँचा क्षेत्रमा मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको छभने धार्मिक पर्यटक क्षेत्र छाब्दी बाराही क्षेत्रमा विद्युत्का खम्बा ढलेपछि दमौली फिडरबाट विद्युत् सञ्चालन गरिएको छ । 

व्यास नगरपालिका–१२ घाँसीकुवा, कमलबारीमा र व्यास–१ कराङकाठस्थित दमौली बसपार्क नजिकै रहेको बुल्दी खोला छेउमा तीन खम्बा ढालेर क्षति बनाएपछि मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको केन्द्रका इञ्जिनियर रेग्मीले जानकारी दिनुभयो ।

“विद्युत् लाइन अवरुद्ध नभएका, भिरालो जमिन चर्किएर पहिरो खस्ने अवस्थामा रहेका र खम्बा ढल्किएका धेरै छन्”, उहाँले भन्नुभयो, “पहिलो प्राथामिकता विद्युत् अवरोध भएका स्थानलाई दिएर काम गरिरहेका छौँ ।” 

बन्दीपुर–६ को समस्तीपुर र मास्दीघाट क्षेत्रका अधिकांश स्थानमा विद्युत्का खम्बा ढलेका इञ्जिनियर रेग्मीले बताउनुभयो । सो क्षेत्रमा मर्मत कार्य बाँकी छ । बन्दीपुर–६ साराङको सबस्टेशनको खम्बा ढलेर क्षति हुँदा करिब तीन हजार बासिन्दा प्रभावित भएका छन् । 

उक्त सबस्टेशनबाट जिल्लाका देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाका केही वडाका बासिन्दाले विद्युत् प्रयोग गर्दै आएका छन् । लमजुङको सोती बजार ‘फिडर’ र थर्पु बजार क्षेत्रमा भने क्षति कम भएको जानकारी प्राप्त भएको तनहुँ वितरण केन्द्रले जनाएको छ ।