नेपालले आज ओमानको सामना गर्दै

 टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज आइतबार ओमानको सामना गर्दै छ । क्यानडाको किङ सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

नेपाल र ओमानबीच भएका पछिल्ला ११ खेलमा नेपालले जित हात पार्न सकेको भने छैन । त्यसैले पनि नेपाललाई आजको खेलमा केही दबाब रहने देखिन्छ । आज मैदान उत्रदाँ नेपाल ओमानविरुद्ध जित निकाल्ने लक्ष्यमा रहनेछ ।

शनिबार राति भएको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पच्छ्याएको नेपालले १९ ओभरमा अल आउट हुँदै १०९ रन मात्रै जोड्यो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३७ रन जोडेका थिए । त्यस्तै, कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट भएका थिए ।