अपडेट : झ्याप्लेखोला पहिरोमा ३ वटा गाडीबाट ३० जनाको शव फेला

 पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो ।

डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ ।माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।