पनौती आउने पर्यटकलाई ‘सम्पदा–पासपोर्ट’

काठमाडौँ, १३ असोज: पनौती घुम्न आउने पर्यटकलाई निःशुल्क ‘सम्पदा–पासपोर्ट’ (अनुमतिपत्र) प्रदान गर्न थालिएको छ । पनौती पर्यटन विकास केन्द्रले विश्व पर्यटन दिवसको अवसर परेर यहाँ आउने पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्न थालेको हो ।

केन्द्रले पनौतीका महत्वपूर्ण धार्मिक, ऐतिहासिक महत्वका क्षेत्र, विभिन्न जात्रा तथा पर्व, सम्पदा, पदमार्ग नक्शासहितको पासपोर्टको सुरुवात गरेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकको सहजता र पनौतीको सम्पदाको जीवन्तताका लागि पासपोर्ट महत्वपूर्ण हुनेछ । 

हाल सम्पदा क्षेत्रमा रङ्गरोगन, पर्यटकको आवागमनका लागि निःशुल्क सवारीसाधनको व्यवस्थापन तथा सञ्चालन, स्थानीयलाई सुकुल (गुन्द्री) बनाउने तालिमलगायत कार्यक्रम सञ्चालन गरी स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न थालिएको कर्माचार्यले बताउनुभयो । 

पनौतीका महत्वपूर्ण क्षेत्रको भ्रमणमा सहयोग पु¥याउने उद्देश्यले ‘क्युआरकोड’सहितको पासपोर्ट सञ्चालनमा ल्याएको बताउँदै अध्यक्ष कर्माचार्यले पासपोर्टमा यस क्षेत्रको संक्षिप्त विवरणसहित धामिर्क तथा ऐतिहासिक महत्व, जात्रा, पर्वलगायत विविधताका बारेमा उल्लेख गरिएको जानकारी दिनुभयो । युनेस्कोद्वारा २५ वर्षअघि यस क्षेत्रलाई ऐतिहासिक क्षेत्रका रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न  प्रस्ताव गरिएको थियो ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । पनौती–५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा छन् । फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि विसं २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको दूरीमा तथा व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । 

केन्द्रले नयाँ पर्यटकको स्वागत गर्न एवं मायाको चिनोका रुपमा पासपोर्ट दिने व्यवस्था गरिएको जनाएको छ । विश्वसम्पदामा सूचिकृत गर्न प्रास्तावित पनौती सहरलाई विश्वजगत्मा चिनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ले सहयोग पु¥याउने विश्वास लिइएको छ ।