अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्षयात्री सुनिता र बुच विलमोरलाई फिर्ता ल्याउने मिसनमा स्पेस एक्स

अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सले जुनयता अन्तरिक्षमा अलपत्र परेका दुई अमेरिकी अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा फिर्ता ल्याउने मिसन सुरु गरेको छ । सुनिता विलियम र बुच विलमोरलाई फिर्ता ल्याउन २ ओटा सिट खाली राखेर कम्पनीले शनिबार फ्लोरिडाको केप कानाभेरलबाट ड्र्यागन क्याप्सुल पठाएको छ ।

बुच र सुनिताका लागि आवश्यक ताजा सामाग्रीहरू बोकेर नासाका अन्तरिक्ष यात्री निक हग र रुसी अन्तरिक्ष यात्री अलेक्जान्देर गोर्बुनोभ सो क्याप्सुलमा गएका छन् । यानले उनीहरूलाई फेब्रुअरीमा पृथ्वीमा ल्याउनेछ । क्याप्सुल बिहीबारै लञ्च गरिने भएको थियो ।

तर अमेरिकामा आएको हेलेन आँधीले फ्लोरिडामा वितन्डा गरेपछि यसको प्रक्षेपण शनिबार मात्रै गरियो । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेस एक्सले हरेक ६÷६ महिनामा अन्तरिक्षयात्रीहरूलाई आईएसएसबाट पृथ्वीमा ल्याउने र पुर्‍याउने गरिरहेको छ ।