मार्क जुकरबर्गको सम्पत्ति २०० अर्ब डलर नाघ्याे

मेटाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको सम्पत्ति २०० अर्ब डलर नाघेको छ । ब्लुम्बर्ग बिलिनियर इन्डेक्सका अनुसार मार्क जुकरबर्गको सम्पत्ति एकै पटक ७३.४ अर्ब डलरले बढ्दा कूल सम्पत्ति २०१ अर्ब डलर (करिब २६८ खर्ब रुपैयाँ बढी) पुगेको हो । 

यससँगै जुकरबर्ग धनाढ्यको सूचीमा शीर्ष चौथो स्थानमा छन् । उनीभन्दा अगाडि क्रमशः बर्नार्ड अर्नल्ट, जेफ बेजस र एलन मस्क रहेका छन् । टेस्ला तथा स्पेस एक्सका सीईओ एलन मस्कको सम्पत्ति २७२ अर्ब डलर रहेको छ । उनी धनाढ्यको शीर्ष स्थानमा छन् । त्यस्तै जेफ बेजोस २११ अर्ब डलर सम्पत्तिका साथ दोस्रो र बर्नार्ड अर्नल्ट २०७ अर्ब डलर सम्पत्तिका साथ तेस्रो स्थानमा रहेका छन् । 

सन् २००४ मा सामाजिक सञ्जाल फेसबुक सार्वजनिक गरेका ४० वर्षीय जुकरबर्गको अधिकांश सम्पत्ति मेटाका प्लेटफर्ममको स्टकमा निर्भर हुन्छ । सन् २०२४ मा मेटाको शेयर ६४ प्रतिशतले वृद्धि भएको छ । समाचार माध्यम सीएनएनका अनुसार बुधबार मेटाकोक शेयर अहिलेसम्मकै उच्च बिन्दु (५६८.३१ डलर) मा पुगेको थियो । 

मेटा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र मेसेजिङ एप ह्वाट्सएप व्यवस्थापन गर्छ । “हामीसँग मासिक ५० करोड प्रयोगकर्ता छन् । हामीले अझै केही ठूला देशमा आफ्ना प्लेटफर्म सार्वजनिक गरिसकेका छैनौं,” युरोपेली संघका देशलाई सङ्केत गर्दै जुकरबर्गले भनेका थिए । 

यस वर्ष अत्यधिक सम्पत्ति आर्जन गर्ने जुकरबर्ग एक मात्र व्यक्ति होइनन् । सन् २०२४ मा चिप निर्मताता कम्पनी एनभिदियाका संस्थापक जेसेन हुवाङ, ओराकलका संस्थापक ल्यारी एलिसनको सम्पत्ति पनि क्रमशः ६२.२ अर्ब डलर र ५८.६ अर्ब डलरले बढेको छ ।