वर्षात् रोकिएसँगै कोशीमा पानीको वहाव घट्न थाल्याे

कोशीमा पानीको वहाव घट्न थालेको छ । वर्षात् रोकिएसँगै बिस्तारै बहाव घटेको हो ।

आज बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमको तथ्यांकअनुसार ६ लाख ६१ हजार ५ क्यूसेक पानी मापन गरिएको थियो । यो बेलासम्म पानी बढ्ने क्रममै थियो । ब्यारेज बनेपछि बहाव इतिहासकै दोस्रो उच्च विन्दुमा पुगेको थियो ।

तर, क्रमशः बिहान ७ बजे ६ लाख ५५ हजार ५ क्यूसेक र ८ बजे ६ लाख ४३ हजार ६७५ क्यूसेक छ । पछिल्लो मापनअनुसार कोशीमा ६ लाख २८ हजार एक सय क्यूसेक पानी रहेको छ ।

माथिल्लो तटीय क्षेत्रमा वर्षा रोकिएकाले कोशीमा पानीको सतह घट्न थालेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

ब्यारेज बनेपछि सप्तकोशीमा पानीको बहाब नियमितरूपमा मापन थालिएको छ । जसअनुसार आज इतिहासकै दोस्रो उच्चतम पानी कोशीमा बगेको छ । यसअघि १९६४ मे ८ तारिखमा सवैभन्दा बढी पानी बहेको रेर्कड मापन गरिएको छ । सो दिन कोशीमा ७ लाख ८८ हजार २ सय क्यूसेक पानी मापन गरिएको थियो । अहिले बहाव घट्न थालेको छ ।